भैरहवा । भैरहवामा जारी संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको आइतबारको खेल सैनामैना क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गर्दै सैनामैना डिभिजन (ए)मा प्रवेश गरेको छ ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा सबै विकेट गुमाउदै ९१ रन बनाएको थियो । जसका लागि सुजन मकाजुले २८, अमर रसाइलीले २४ रन बनाए पनि अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङ तर्फ सैनामैनाका उदय पन्तले ५ विकेट, विशाल भुसालले २ ,कृष्ण गिरीले र सुनिल पौडेलले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङमा सैनामैनाले १९ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पार गर्यो । जस्का लागि सरोज पौडेलले नटआउट ४१, अंकीत परियारले १६ र मनिस क्षेत्रीले १३ रनको योग्दान गरे । बलिङ तर्फ प्रोफेसनलका अनिल जैसवारले २ र जितेन्द्र साहनीकाले १ विकेट लिए ।
आइतबारको खेलमा सैनामैनाका उदय पन्त म्यान अफ म्याच भए घोषित भई पुरस्कृत भए । उनले ९ ओभरमा १ मेडन ओभर गर्दै ५ विकेट लिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । सोमबारको खेल शंकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।
२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ ।