काठमाण्डाै । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।
बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५ वर्षमाथि नाै लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।