काठमाण्डौ । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
तत्कालिन छानविन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानविन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।