भैरहवा । भैरहवामा कोभिड १९ संक्रमित एक चिकित्सकको मृत्यु भएकाे छ । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाँउमा कार्यरत ३५ वर्षीय चिकित्सकको मृत्यु भएको हाे ।
काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका डाक्टर पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
कपिलवस्तु घर भएका फिजिसियन रजौरियाकाे भर्खरै विवाह भएकाे थियाे । काेभिड उपचारमा खटिएका श्रीमान श्रीमती नै कोभिड संक्रमित भएका थिए । श्रीमती डाक्टर हसिना वानुले कोभिड परास्त गरेपनि रजौरियाले हारेका छन् । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।
काेभिडका कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भए पनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना हाे।