भैरहवा । रुपन्देहीकाे लुम्बिनीमा निषाेधाज्ञा खुलाउन माग गर्ने युवालाइ प्रहरीले पक्राउ गरेकाे छ । जिल्लामा जारी निषेधाज्ञाकाे उल्लंघन गर्दै आइतबार नगरपालिका कार्यालय घेराउ गर्ने तयारीमा रहेका युवालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हाे।
कोरोना संक्रमण अझै पनि जोखिममै रहेकाले जेठ ३१ गतेसम्म निषेधाज्ञा गरिएको छ। तर, जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाहरूको एक समूहले निषेध आदेश खुलाउन माग गर्दै शनिबार साझ प्रदर्शन गरेका थिए।
लामो समयदेखिको निषेधाज्ञाले स्थानीयलाई जिविका चलाउन गाह्रो भइरहेको भएपनि स्थानीय प्रशासनले निषेधाज्ञालाई अझै कडा बनाउँदैं लगेको उनीहरुको आरोप छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ का स्थानीयले निषेध आदेशमा सर्वसाधारणमाथि निकै कडाइ भएको भन्दै शनिबार खुनगाई चौराहामा टायर बालेर विरोध जनाएका थिए ।
निशेधाज्ञाको नाममा स्थानीयालाई त्रसित पार्ने काम भएको आरोप लगाउदै स्थानीय अर्जुन कुर्मीको नेतृत्वको टोलीले निषेध आदेशको कडाइले आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै उल्लंघनको चेतावनी दिएको हो।
आइतबार युवाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालय घेराउ गर्ने तयारीमा समेत रहेका कुर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो। युवाहरूको समूहले आइतबार सबै बजार खुलाउने भन्दै सार्वजनिक रुपमा आग्रहसमेत गरेका थिए। निषेधाज्ञाको बेला अति जरुरि काम बाहेक घरबाहिर निस्कन पाइदैन। तर, निषेधाज्ञाको उल्लंघन गर्न सार्वजनिक रुपमा अपिल गर्दै हिडेको आरोपमा अर्जुन कुर्मीलाई शनिबार साझ नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने जाे काेहीलाइ संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्छाै डिएसपी थापाले भने ।
रुपन्देहीमा अझै पनि कोरोना संक्रमणको जोखिम भएकाले निषेध आदेश जारी रहेको बेला केही व्यक्तिले आफ्नो स्वार्थका लागि प्रदर्शन गरेको प्रशासनले जनाएको छ। केही व्यक्तिले माटो निकालिरहेकाले त्यसलाई प्रशासनले रोक लगाएपछि निषेध आदेशको नाममा गलत प्रचार गरेको बताए। ‘हामीले केहिलाई नियन्त्रणमा लिएका छौं, कानुन अनुसार कारबाही गर्छौ,’उनले भने।