भैरहवा । रुपन्देहीमा संक्रमण दर र निको हुनेको संख्यामा बृद्धि भएपनि अस्पतालमा रहेका सक्रिय संक्रमितहरुको अवस्था स्थिर रहेको छ । शुक्रबार संक्रमित मध्ये १५८ जना विभिन्न अस्पतालमा उपचारको क्रममा रहेपनि यो संख्या सोमबार बढेर १७३ पुगेको छ ।
दैनिक रुपमा केही मात्र अस्पतालका विरामीहरु निको भएर घर फर्किने र जटिल अवस्थामा पुगेर मात्र उपचारमा रहने भएकोले अस्पतालमा उपचाररत संक्रमितको संख्यामा खासै उतारचढाव रहेको छैन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आइतबार साझ सम्म जिल्लामा १४२ जना कोभिडका विरामी उपचाररत रहेका छन, त्यस्तै २७ जना आइसियुमा र ९ जना भेन्टिलेटरमा रहेका छन । प्रशासकिय अधिकृत जनक थापाका अनुसार आइतबार मात्रै ७ जना अस्पतालमा र २ जना भेन्टिलेटरमा संक्रमित थपिएका थिए भने ३ जनाको मृत्यु भएको थियो ।
यता स्वास्थ्य कार्यालयले दिएको तथ्याङक अनुसार सोमबार पछिल्लो २४ घण्टामा २१९ जनाको पसिीआर परिक्षण गर्दा ६३ जनामा संक्रमण भएको छ भने सो अवधिमा १०९ जना निको भएर घर फर्केका छन । हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा बैशाख १६ गते देखि निषेधाज्ञा जारी रहेको थियो, दिनानुदिन संक्रमणको नया रेकर्ड बनाउदै आएको रुपन्देही संक्रमणको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न ठाँउमा छड्के आरडिटी एन्टिजिन परिक्षण गरेर पनि समुदायमा संक्रमितको अवस्थाबारे निरिक्षण गरिरहेकाे छ ।
पछिल्लो २४ घण्टामा ११ वटा पालिकाका २७ महिला र ३६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय ११ पुगेका छन् भने हालसम्म चार सय ५४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार जिल्लाको सबै भन्दा बढि तिलोत्तमा १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवलमा १२, सिद्धार्थनगरमा ६, देवदहमा ८, सैनामैनामा ७ र लुम्बिनी सास्कृतिक नगरपालिकामा १ जनामा संक्रमित थपिएका छन । गाँउपालिक तर्फ ओमसतियामा ६, मायादेवी र रोहिणीमा २–२ , गैडहवार शुद्धोधनमा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्मका संक्रमितहरुमध्ये ९४ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने जिल्लामा ४ प्रतिशत सक्रिय संक्रमित रहेका छन् । पछिल्लो हप्ता रुपन्देहीमा कोरोना संक्रमण केही घटेको पाइएको छ ।