भैरहवा । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसिल रूपन्देही सहित आजबाट देशभर विभिन्न उमेर समूहलाई लगाउन सुरु गरिँदै छ । चीनले हालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले खोप अभियान सञ्चालन गरेकाे हो ।
काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखाले जानकारी दिएकाे छ । खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने तयारी छ ।
हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ । हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाउने तयारी भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।
खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएको बताएको छ । खोप लगाउनका लागि उमेर खुलेको, फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।
रूपन्देहीमा ६९ वटा खोप केन्द्रबाट सेवा
रूपन्देहीमा कोभिड १९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखी लगाइँदै छ । ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी रहेको स्वास्थय कार्यालय रूपन्देहीका प्रमुख राजेन्द्र गिरिले बताए ।
जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने उनले बताए। जिल्लाका सबै पालिकामा गरि ६९ वटा केन्द्रबाट खोप लगाइन्छ, नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । खोपका लागि सबै तयारी पुरा भइसकेको छ । स्थानीय तहको स्वास्थ्य शाखासँग समन्वय गरी यो खोप तोकिएको खोप केन्द्रबाट लगाइने छ ।
यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मि, सुरक्षा कर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोना विरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपी उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन्। तेस्रो चरणमा चिनबाट आएको भेरोसेल खोप मंगलबारदेखी लगाउन थालिएको हो ।