भैरहवा । मृत अवस्थामा आइतबार लुम्बिनीमा फेला परेको महेन्द्र यादवको हत्यामा संलग्न ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा चोटपटक लागेको अवस्थामा फेला परेका ३५ बर्षीय यादवको हत्यामा संलग्न सोही स्थानकै ५ जना यूवाहरुको संलग्नता देखिएकोले सबैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।
प्रहरीले सोही ठाँउको मनौरामा बस्ने २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत आइतबार बिहान खेतमा काम गर्न जाने क्रममा महिलाले शव देखेर स्थानीय र प्रहरीलाई खबर भएको थियो । ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा गएको टोलीले याादवको शव फेला पारेको थियो । मृतककको मृतकको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागी अनुहार लगाएत टाउको समेतको भाग रगतले लतपतिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने सोचले योजनाबद्ध रुपमा यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो, हत्याका अभियुक्तहरुलाई मंगलबार पक्राउ गरिएको हो । जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिई उनीहरुमाथि अनुसन्धान अगाडी बढाइएको प्रवक्ता चन्दले जानकारी दिए ।
हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।