भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्र मंझरियामा झोलुङ्गे पुल बनेको छ । मर्चवारी गाँउपलिका–७ स्थित उक्त पुलको बिहीबार गाँउपालिका अध्यक्ष केशबनन्द बानियाले रिबन काटेर उद्घाटन गरेका हुन । मर्चवारी गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्मित उक्त पुल भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन कार्यक्रम रहे पनि मन्त्री उपस्थित हुन नसकेपछि तोकिएको २ घण्टा पछि गाँउपालिका अध्यक्ष स्वयमले उद्घाटन गरेका थिए ।
उद्घाटनमा बोल्दै अध्यक्ष बानियाले भारतको सीमासंग सटेको नेपाली भुभाग डण्डा खोलाले गर्दा २० विगाह भन्दा बढी जग्गा वर्षौदेखि बांझो रहेकोले पुल निर्माणपछि अब उक्त जग्गाको सदुपयोग हुने बताए । खेतीपाती गर्न सहज हुने गरी पुलको निर्माण भएको छ पुलबाट मुख्य कृषि उपकरण, जनशक्ति तथा अन्य कृषि सामग्री सहजै ओसारपसार गर्न सकिने उनले भने ।
बनियाले भने ‘यो पुलको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयद्वारा उद्घाटन कार्यक्रम रहेको थियो, तर कारणवश उहाँको उपस्थिति हुन नसकेकोले मैले उद्घाटन गरको छु, अवस्था सहज भएपछि भव्य कार्यक्रमको आयोजना गरी मन्त्रीबाट उद्घाटन गराउनेछौं’ ।
पुल निर्माणपछि स्थानीय हर्षित भएका छन् । खोलापारी जग्गा रहेको स्थानीय मोहम्मद सिद्दिख फकिरले अब पारीको जग्गामा पनि धानबाली उत्पादन गर्न सजिलो हुने बताए । ‘हामी किसानहरुको पीडा बुझेर पुल निर्माण गरेको स्थानीय र र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु । ’
मर्चवारी–७ का वडाध्यक्ष मातिवार कोहारले हामीले चुनावी वाचा पुरा गरिरहेका छौं, विस्तारै विस्तारै बाँकी प्रतिबद्धता पनि पुरा गर्ने बताए ।
५ हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने ७२ लाख भन्दा बढीको लागतमा बनेको उक्त पुल मुख्य कृषि प्रयोजनको लागि निर्माण गरिएको मर्चवारी गाउँपालिकाले जानकारी दिएको छ ।