भैरहवा । नेकपा एमालेका भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगरले भैरहवास्थित भिम अस्पताल परिसरमा विरामी तथा आफन्तका लागि मास्क, पिउने पानी तथा स्यानिटाईजर निशुलक वितरण गरिरहेको छ ।
कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा आउने विरामी तथा आफन्तहरुलाई सहजता होस् भनेर विगत ९ दिनदेखि निशुल्क खानेपानी तथा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक भिम भण्डारीले जनाए ।
उनले कोरोनाबाट बच्नका लागि समय समयमा आफुले लगाएको मास्क परिवर्तन गनु पर्ने, हातमा स्यानिटाईजरको प्रयोग गर्न स्वास्थ्यकर्मीले सल्लाह दिएपनि निम्न आय भएका ग्रामिण तहका सर्वसाधारणलाई खर्चले नपुग्ने हुंदा सहयोग गरिएको बताए ।
विपतको समयमा युवाहरुको सक्रीयतालाई मध्येनजर गर्दै सरकारी अस्पताल भिम अस्पतालमा आउने विरामी, अन्य स्वास्थ्य सेवामा आउने विरामी तथा आफन्त,स्वास्थ्य कर्मी सबैका लागि पिउने पानीको व्यवस्था समेत यी संगठन गरेको युवा संघका नेता सुवास पाण्डेले जनाकारी दिए । कोभिडको दास्रो लहरका कारण सबैतिर संकट परिरहेको अवस्थामा दुई संगठनको पहलमा करीब ३ हजार जनालाई निशुल्क स्वास्थ्य सामग्री उपलब्ध गराउने लक्ष्य रहेको र हाल करीब १ हजार ५ सय जनालाई पानी, मास्क तथा सेनिटाईजर निशुल्क वितरण गरिएको नेकपा एमाले सिद्धार्थनगर वडा नम्बर ९ वडा कमिटीका सह ईन्चार्ज वाईपि आचार्यले जानकारी दिए । यो सेवा असार १० गतेसम्म निरन्तर रहने पनि उनले जनाए ।