भैरहवा । रुपन्देहीमा सक्रिय संक्रमीतको संख्या ४ सय १२ पुगेको छ । संक्रमण भई निको हुनेको संख्या दिनानुदिन बढेकोले सक्रिय संक्रमितको संख्यामा गिरावट आएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार दुई हप्ता अघिसम्म दुई हजारभन्दा धेरै रहेका सक्रिय संक्रमितको संख्या लगातार घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा २२ जना मात्र संक्रमित थपिएका छन् । एक सय ३६ जनाको आरटी पीसीआर परिक्षण गर्दा २२ जनामा पोजिटिभ देखिएको जुन १६ प्रतिशत हो । पिसीआर परिक्षणको संख्यामा कमि आए पनि संक्रमित हुनेको अनुपात पहिलाको तुलनामा घटेपनि अझै जोखिम बढि नै रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले भने ।
जारी निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रीत गर्न सकेका हौ । स्थानीय प्रशासनले अझै जारी राखेको निषेधाज्ञा र त्यसपछिको अवस्थालाई व्यवस्थित गर्न नसके जोखिम पुग्न समय नलाग्ने कार्यालय प्रमुख राजेन्द्र गिरीले भने ।
आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमामा ५ महिला र ४ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवल र देवदहमा ३–३, सिद्धार्थनगर, कंचन र सैनामैनामा २–२ एवं कोटहीमाई गाँउपालिकामा एक जना नयाँ संक्रमित थपिएका छन ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा एक संक्रमितको ज्यान गएको छ, योसँगै जिल्लामा संक्रमित भई मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
अब जिल्लामा कुल संक्रमित मध्ये एक प्रतिशतमात्रै सक्रिय संक्रमित, २ प्रतिशतको ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । संक्रमित मध्ये ९७ प्रतिशतले कोरोना जितिसकेका छन ।
हाल सम्म २७ हजार ८ सय ५८ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ९ सय ६९ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ४ सय १२ जना मध्ये ९२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने ३२० जना होम आइशोलेशनमा छन ।