भैरहवा । दोस्रो लहरको कोरोना संक्रमण (कोभिड १९) फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञाका कारण अस्पताल आसपासका होटल तथा रेष्टुरेण्ट बन्द भए । जसको प्रत्यक्ष मारमा अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा पर्न गए । एकातर्फ बिरामीको स्वास्थ्य अवस्थाबारे चिन्तित बिरामी कुरुवालाई अर्कोतर्फ खानाको समस्या । यही समस्यालाई मध्यनजर गर्दै जेसीआई सिद्धार्थ, नेपालले जेठ ६ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा निःशुल्क खाना खुवाउन सुरु गरेको थियो । संस्थाले युसीएमएससंगै सिद्धार्थनगर नगरपालिकाद्वारा सि.न.पा.–३ स्थित बसपार्कमा सञ्चालित आइसोलेशन सेन्टरमा पनि निःशुल्क खाना वितरण सुरु गरेको थियो ।
‘महामारीको बेला एकले अर्कालाई सहयोग गर्नु नै मानवीय कार्य हो, निषेधाज्ञाको पालना गर्दैै नागरिक घरमै बसेको बेला बिरामी र बिरामी कुरुवाहरुको लागि केही भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरेका हौं, ’जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले भने । ३१ औं दिन शनिबारसम्म आइपुग्दा संस्थाले ७ हजार बढीलाई खाना वितरण गरिसकेको ज्ञवालीले जानकारी दिए । खाना वितरण कार्यक्रम असार ७ गतेसम्म सञ्चालन गरिने उनले जानकारी दिए ।
अस्पताल र आइसालेशन सेन्टरमा जेसीआई सिद्धार्थले खाना वितरण गरिएको निःशुल्क खाना वितरण कार्यक्रम संयोजक कमल जि.सी.ले बताए । ‘बिरामी कुरुवा खाना लिन आउँदा पटकपटक धन्यवाद भनिरहनुहुन्छ, उहाँहरुको प्रोत्साहनले हामीलाई थप उर्जा मिलेको छ, ’जि.सी.ले भने ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्र लाई आत्मसात गर्दै महामारीमा निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरिएको जेसीआई सिद्धार्थ, २०२१ का महासचिव सागर पोखरेलले बताए ।