भैरहवा । रुपन्देहीमा बुधबार ५७ जना संक्रमण मुक्त र १९ जना नयाँ संक्रमित थपिएका छन । जिल्ला भरीका १६१ जनाको आररटीपसिीआरबाट परिक्षण गर्दा ११ दशमलव ८ प्रतिशत अर्थात १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका ७ वटा पालिकाका १३ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सबै भन्दा बढि देवदह नगरपालिका क्षेत्रमा ५ महिला र २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिका ५ जना, सिद्धार्थनगर र सैनामैना नगरपालिकामा २–२ जना, तिलोत्तमा, सियारी र गैडहवामा १–१ जना जना नयाँ संक्रमित थपिएका हुन् ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ, सो मृतकसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८२ पुगेको छ । हाल सम्म २७ हजार ९ सय ३६ जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार १ सय ८६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित २ सय ६८ जना मध्ये ६२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ३ सय ६१ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९७ प्रतिशत निको भएका, १ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
कार्यालयका मृतकमध्ये महामारीको पहिलो लहरमा एक सय ५७ जना र दोस्रो लहरमा तीन सय २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो हप्तादेखि जिल्लामा दैनिक ५० जनाभन्दा कम संक्रमित पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासनले १६ गतेदेखि नै जिल्लाभर महामारी नियन्त्रण र रोकथाम गर्न निशेधाज्ञा जारी गरेसँगै संक्रमण दर पछिल्लो समयमा घटेको हो ।