भैरहवा । रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित बजेट पनि पेश गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख, संघिय सरकारबाट ४२ करोड २४ लाख ७७ हजार, प्रदेश सरकारबाट ४ करोड २२ ाख ५३ हजार, जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख, अन्य श्रोतबाट प्राप्त हुने १ करोड ७० लाख, र बैंक मौजदात ३ करोड सहित उक्त बजेट पेश गरेकाे हाे ।
आर्थिक बर्ष २०७८÷०७९ को बजेट पेश गर्दै गाउँसभा सदस्य ईन्द्रमान चौधरीले गाउँपालिकाले आर्थिक विकासमा ३ करोड ७४ लाख ६ हजार, सामाजिक विकास तर्फ २६ करोड ९३ लाख २३ हजार, पूर्वाधार विकासमा १३ करोड ३४ लाख ६५ हजार, सुशासन तथा अन्तरसम्बन्ति क्षेत्र तर्फ २ करोड ५० लाख ३६ हजार र कार्यालय सञ्चालन तथा ब्यवस्थापन तर्फ ९ करोड २० लाख रुपैया बिनियोजन गरेको बताए ।
गाउँपालिकाको बिहिबार नै सम्पन्न भएको नवौं गाउसभामा पेश भएको आर्थिक बर्ष २०७८-०७९ को निति तथा कार्यक्रममा “उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम” समेटिएको छ । निति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न प्रसुति गृह निर्माण र सञ्चालनलाई ब्यवस्थित र प्रभावकारी बनाईने भनिएको छ । गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको हाे । श्रावण १ गते देखी नै कार्यान्वयन हुने गरि उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।
बिहिबार सार्वजनिक भएको निति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई हेर्दै यस बर्ष साउन देखी नै योजना तथा कार्यक्रमहरु सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताए । “हाम्रो रोहिणी राम्रो रोहिणी” भन्ने मान्यताका साथ कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई रोहिणी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध रोहिणीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपुर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।
यस बर्ष कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखी अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने निति ल्याईएको छ ।
दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।
नवौं गाउँसभा कार्यक्रममा रोहिणी गाउँपालिकाले “रोहिणी पत्रकारीता पुरस्कार” को स्थापना गरेको छ । गाउँसभाको अवसर पारी रुपन्देहीका २ जना पत्रकारलाई गाउँपालिकाले उक्त पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेमा उज्यालो सन्देशका सम्पादक विवेक कुमार विश्वकर्मा र लुम्बिनी खबरको धकधई प्रमुख पशुपति यादव रहेका छन् । आगामी दिनमा पनि कार्यविधि बनाई यो पुरस्कारलाई निरन्तरता दिईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।