भैरहवा । रुपन्देहीका १५ वटा स्थानीय तहमा बजेट तथा कार्यक्रम सार्वजनिक भएका छन । एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको सिद्धार्थनगरमा ओमसतिया गाँउपालिका बाहेकका सबै पालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन । ओमसतिया गाँउपालिकाका अधिकांस गाँउसभा सदस्यले गाँउसभा बहिष्कार गरेपछि बजेट सार्वजनिक नभएको हो ।
असार १० गते सम्म भएका बजेट तथा कार्यक्रमबारे पालिकामा असन्तुष्टि भएपनि बहुमतको अधारमा कतिपय पालिकामा बजेट आएको छ भने बहुमत पुग्न नसकेको ओमसतियामा मात्रै बजेट पेश हुन सकेन ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अहिलेको बजेट पालिकामा निर्वाचित जनप्रतिनिधिको अन्तिम वर्षको बजेट पनि हो । रुपन्देहीका कतिपय पालिकामा शान्तपूर्ण रुपमा बजेट पशे भएपनि बहुमतका आधारमा पनि बजेट पेश भएका छन । वडाअध्यक्ष, वडा सदस्य र गाउँपालिका अध्यक्षमा वडामा दिइने बजेट सिलिङको बारेमा कुरा नमिल्दा यस्तो अवस्था आउन गएको हो । यसै वर्षनै चुनाव हुने हुदा बजेट विकासमुखी हुनुपर्छ भन्ने एक पक्षको भनाई छ भने निर्वाचनमुखी भएको भन्दै केही असन्तुष्ट भएका हुन ।
मर्चवारको कोटहीमाई, मर्चवारीमा पनि विवाद वडा अध्यक्षको सिलिङकै रहे पनि गाँउसभा गणपुरक संख्या पुगेकै आधारमा भएको छ । मर्चवारी गाँउपालिकामा पनि सबै वडा अध्यक्षहरुले गाँउसभामा उपस्थिती जनाएका थिएनन भने कोटहीमाईले गाँउपालिकामा गर्ने भनेको गाँउसभा भैरहवा ल्याएर सम्पन्न गरेको छ । केही जनप्रतिनिधीहले गाँउपालिका भवनमा तालाबन्दी गरेपछि बहुमतकै आधारमा कोटहीमाईले पनि गाँउसभा गरेको छ, त्यस्तै मायादेवी, रोहिणीले पनि गाँउसभा बहुमतकै अधारमा गरेका छन ।
रोहिणीमा पनि केही सिलिङकै विषयमा असन्तुष्टि रहेकोले गाँउसभा विशेष आर्थिक क्षेत्र सेजमा गर्ने भनिएको थियो, १ बजे तोकिएको गाँउसभा सेज पछि होटल रेडसनमा गर्ने भनियो त्यहा पनि अपायक पर्ने ठाँउमा जबरजस्ती गाँउसभा गर्न लागिएको भन्ने विरोध आएपछि ३ बजे गाँउसभा गाँउपालिका क्षेत्र धकधईमै गरिएको हो ।
जसोतसो स्थानीय १६ पालिका मध्ये रुपन्देहीका १५ पालिकामा बजेट निर्धारित समयमै सम्पन्न भएपनि ओमसतिया गाँउपालिकाको बजेट भने अनिश्चित रहेको छ ।
प्रस्तुत छ रुपन्देहीका १५ पालिकाहरुको बजेट तथा प्राथमिकता
बुटवल उपमहानगरपालिका बुटवल उपमहानगरपालिकाले जीवनका लागि स्वास्थ्य भन्ने मान्यतामा आधारित रहि बजेट प्राथमिकतामा जनस्वास्थ्यलाई राखेको छ । स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, स्वास्थ्य संस्थाहरूको पूर्वाधार , स्वास्थ्य संस्थाहरुमा औषधि औजार उपकरणको प्रयाप्तता र स्वास्थ्यकर्मीहरुको क्षमता एवम् मनोबल उकास्ने कार्यमा बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ । बुटवलले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७सय १० रुपैयाँको बजेट ल्याएको छ ।
तिलोत्तमा नगरपालिका ८ गते नै नगररसभा सम्पन्न गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामको विषम परिस्थितिलाई समुचित सम्बोधन गर्नुका साथै रोजगारी र्सिजना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको छ । तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेको छ ।
सैनामैना नगरपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेर बजेट पशे गरेको छ । नगरपालिकाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण गर्ने र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैया गरी आगामी आर्थिक वर्षका लागि सैनामैनाले एक अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ ।
सिद्धार्थनगर नगरपालिकाले पनि कोभिड १९ लगायत विपदको रोकथाम, उपचार र नियन्त्रण, क्रमागत योजना, शहरी पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास, कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्रमा जोड दिएर बजेट पेश गरेको छ । नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
देवदह नगरपालिकाले पनि कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८ ÷७९ का लागि ९४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
लुम्बिनी सांस्कृति नगरपालिकाले अन्तिम दिनमा आएर नगरसभा गर्दे बजेट पेश गरेको छ । रुपन्देहीको नगरपालिका मध्ये सबै भन्दा कम बजेट लुमिबनीकै रहेको छ । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र ब्यपार, पर्यटनसहितको पूर्वाधार नगर विकासको आधार भन्ने नारानै तय गरी नगरपालिकाले ८० करोड ३९ लाख ६३ हजार ६८४ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
यस्तै गाँउपालिकाहरु मध्ये सबै भन्दा बढि बजेट गैडहवा गाउँपालिकाले ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र ब्यापार ,पर्यटन सहितको पूर्वाधार गैडहवा विकासको आधार भन्ने मूल नारा सहित नै गाउँपालिकाले गाँउसभा गरेको छ । गाउँपालिकाले ६६ करोड ८१ लाख ४४ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
मायादेवी गाँउपालिकाले पनि स्वास्थ्यका साथ साथै शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिदै ६३ करोड ८७ लाख ४४ हजार रुपैया बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकै बैंक मौज्दात ९ करोड ४८ लाख रहेको छ भने आन्तरिक आय ६ करोड ५० लाख रुपैया हुने बताएको छ ।
कंचन गाउँपालिकाले पनि बिहीबार बजेट सार्वजनिक गरेको छ । कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर पालिकाले चालुतर्फ २५ करोड २९ लाख ४० हजार, पुँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सियारी गाउँपालिकाले पनि अहिले विषम परिस्थितीलाई मध्यनजर गर्दै स्वास्थ्यलाई प्रथमिकता दिएको छ । गत वर्ष शिक्षामा प्राथमिकता रहेको सियारीको अहिले शिक्षाका साथसाथै कृषि ,पर्यटन र पुर्वाधारलाई पनि बजेटमा उचित सम्बोधन गरेको छ । गाँउपालिकाले ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको बजेट लयाएको छ ।
शुद्धोधन गाउँपालिका ले पनि आगामी आर्थिक वर्षका लागि ५७ करोड ८२ लाख ९५ हजार २५५ रुपैयाँको बजेट ल्याएको छ ।
रोहिणी गाउँपालिकाले गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिदै े ५५ करोड ७२ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ । गाँउपालिकाले स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाएको छ ।
सम्मरीमाई गाउँपालिकाले गाउँपालिकाहरुमध्ये सबैभन्दा पहिला बजेट ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र रोजगार, समुन्नत सम्मरीमाईको विकासको आधार भन्ने नाराका साथ ५३ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
मर्चवारी गाउँपालिकाले पनि ५३ करोड ३७ लाख ८९ हजार ८३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
कोटहीमाई गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्यका साथ साथै कृषि र पूर्वाधार, लाई बजेटमा जोड लिए योजना तर्जुमा गरेको छ ।