भैरहवा । अघिल्लो साता रुपन्देहीमा कोरोना संक्रमितको संख्या घटेसंग अब कोरोना भाइरस सकिएको हो कि भनेर धेरैले अड्कल गरेका थिए । तर यो साता फेरी रुपन्देहीमा संक्रमितको संख्या बढ्न थालेको छ ।
आम नागरिकको दैनिकि सहज होस् भनेर लकडाउन खुकुलो पारिएसंगै पुनः कोरोनाका संक्रमितको संख्या बढ्न थालेको हो । मंगलबारदेखि सार्वजनिक यातायात समेत जोरविरोज प्रणालीमा संचालन गर्ने निर्णयले यो संख्या झनै बढ्न सक्ने देखिएको छ ।
रुपन्देहीमा मंगलबार ६ जना संक्रमण मुक्त हुंदा २० जना नयाँंसंक्रमित थपिएका छन । जिल्ला भरी १४४ जनाको आररटी पिसिआरबाट परिक्षण गर्दा १३ दशमलव ८८ प्रतिशत अर्थात २० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका ६ वटा पालिकाका १० महिला र १० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार लगातार घट्दै गएको सक्रिय संक्रमितको संख्या आइतबारबाट बढेको हो , संक्रमण हुनेको संख्या बढ्दो र निको हुनेको संख्यामा गिरावट आएसंगै सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार २०२ जना सक्रिय संक्रमित भए पनि आज २२९ पुगेको छ ।
थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपालिकमा ६ महिला सहित १३ जना रहेका छन । त्यस्तै सिद्धार्थनगर र तिलोत्तममा २–२ जना, सियारी देवदह र सैनामैनामा १–१ जना जना नयाँ संक्रमित थपिएको कोभिड फोकल पर्सन समेत रहेका शाहले बताए । आज जिल्लामा मृत्यु हुनेको संख्या शुन्य छ ।
कार्यालयका अनुसार हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८७ पुगेको छ । २८ हजार ६७ जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार ३ सय ५१ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित २ सय २९ जना मध्ये ६३ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बांकी १ सय ६६ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९७ प्रतिशत निको भएका, १ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।