Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पाल्पामा असार दाेस्राे साता सम्म ५० प्रतिशत रोपाई सकियाे


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०७८ बुधवार
  • 720
    SHARES

पाल्पामा असार दाेस्राे साता सम्म  ५० प्रतिशत रोपाई सकियाे

पाल्पा । पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ ।

यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए ।

जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।

पाल्पाको रामपुरमा भने केही मात्रामा मात्रै रोपाइँ थालिएको छ । रामपुरमा करिब पाँच प्रतिशत रोपाइँ भए पनि अधिकांश खेतबारीमा मकै पाक्नै बाँकी भएका कारण रोपाइँ नभएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेय बताउछन् । उनका अनुसार मकै छर्ने समयमा आकाशबाट पानी ढिलो परेको, पर्याप्त पानी नपर्दा समयमा मकै नपाकेकाले धान रोपाइँ यस वर्ष ढिलो भएको छ ।

जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । विगत वर्षमा भन्दा यस वर्ष धानखेती गरिने क्षेत्रफलसमेत वृद्धि भएको छ ।

यस वर्ष विभिन्न पालिकाले अनुदानमा धानको बीउ अनुदानमा दिएको तथा युवा गाउँ फर्केर बाँझो जग्गामा खेती गर्न थालेका कारण पनि यस वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाइ छ । यसअघि जिल्लाका करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको थियो ।

पछिल्लो समय जिल्लामा धान उत्पादनसमेत बढ्दै गएको छ । जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।

उन्नत जातका वर्णसङ्कर धान रोपाइँ, यन्त्रको प्रयोगले माटोको राम्रोसँग खनजोत तथा समयमा वर्षाका कारण पनि उत्पादन वृद्धि भएको ज्ञान केन्द्रको अनुमान छ ।


लुम्बिनी चिन्तन

थप समाचार