Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अपराध तथा चोरी पैठारी नियन्त्रणका लागि छोटी भन्सारहरु पुर्नस्थापना गर्न माग


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०७८ बिहिवार
  • 1.2K
    SHARES

अपराध तथा चोरी पैठारी नियन्त्रणका लागि छोटी भन्सारहरु पुर्नस्थापना गर्न माग

भैरहवा । द्धन्द्धकालमा बिस्थापित भएका रुपन्देहीका छोटी भन्सारहरु पुर्नस्थापना गर्न यहांका सरोकारवालाहरुले माग गरेका छन् ।

सिमा क्षेत्रमा अपराध नियन्त्रण तथा चोरी पैठारी नियन्त्रणका लागि अविलम्ब छोटी भन्सारहरु पुर्नस्थापना गर्न रुपन्देहीको रोहिणी गाउंपालिकाका सरोकारवालाले माग गरेका छन् ।

रोहिणी गउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोहिणीमा आयोजना गरेको सिमा क्षेत्रमा हुने अपराधजन्य क्रियाकलापको नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले छोटी भन्सारकै अभावमा पनि सिमा क्षेत्रमा अपराध न्यूनिकरण हुन नसकेको जिकिर गरे । कार्यक्रममा बोल्दै स्थानिय अगुवा सञ्जय कुमार गुप्ताले भारतबाट अहिले बिभिन्न भारतीय नम्बर प्लेटका सवारीहरु आउने र अपराध गरेर भारत तर्फ भाग्ने गरेको कारण यसको नियन्त्रणको लागी पनि छोटी भन्सार आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले भारतीय पक्षले रोहिणी क्षेत्रका अधिकांश गाउँ नै डुबानमा पर्ने गरि सडक बनाएकोमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुटनितिक पहल हुन नसकेको बताए । भारतले एकतर्फी रुपमा सडक बनाउदा रोहिणीको वडा नम्बर ५,६ र ७ का अधिकांश गाउँ र खेती योग्य जग्गा डुबानमा परेको उनले बताए ।

यस्तै उनले सुरक्षा संयन्त्रलाई चुस्त बनाउन उनिहरुलाई साधनश्रोतले सम्पन्न बनाउन पनि माग गरे । गृह मन्त्रालय अन्र्तगत रहेको प्रहरीलाई सम्बन्धित मन्त्रालयले प्रयाप्त बजेट नदिदा पनि सिमामा अपराध जन्य क्रियाकलाप न्यूनिकरण गर्न नसकिएको यादवको भनाई छ । “बिग्रेको, थोत्रो सवारीले प्रहरीले कहिले सम्म सुरक्षा प्रदान गर्न सक्छ ? यसै कारण पनि प्रहरी घटनास्थलमा ढिलो पुगि रहेको हुन्छ ।” यादवले भने । उनले गाउँपालिकाले स्थानिय सुरक्षा निकायलाई केही बजेट दिए पनि त्यो प्रयाप्त हुन नसकेको जिकिर गरे ।

सिमा क्षेत्रमा हुने अपराधका कारकमा दशगजासंगै सटेर रहेका मदिरा पसल र बिभिन्न गोदामहरु पनि हुने गरेको वक्ताहरुले बताए । स्थानिय प्रशासनले ब्यवसाय दर्ता गर्दा पनि सिमा क्षेत्रबाट निश्चित दुरी तोकेर मात्र अनुमति दिनु पर्ने उनिहरुको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालयले यस आर्थिक बर्षमा सिमासंग सटेर रहेको ४ वटा स्थानिय तहमा यो कार्यक्रम गर्ने जनाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी बिजय कुमार पौडेलले रोहिणी, सम्मरीमाई, मर्चवारी गाउँपालिका र सिद्धार्थनगर नगर पालिका वा लुम्बिनी सांस्कृतिक नगरपालिका मध्ये कुनै एक स्थानमा यो कार्यक्रमको आयोजना गरिने जानकारी दिए । कार्यक्रमले स्थानिय तह र जिल्ला प्रशासन कार्यालय बिच हुने कामहरुमा पनि सहजता ल्याउने विश्वास जताए । उनले कार्यक्रममा सिमामा हुने अपराधिक क्रियाकलापको न्यूनिकरण मात्र नभई जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासुविधा बारे पनि स्थानियहरुलाई जानकारी दिई रहेको बताए ।

उनले अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरुलाइ जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक मार्फत काउण्टर पार्ट मिटिङमा यो बिषयहरु समाधानको पहल गरिने बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत झविन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्लाको सिमा क्षेत्रमा रहेको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । रोहिणी गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, सबै वडाका वडा अध्यक्षहरु, रोहिणी गाउंपालिकामा रहेको सुरक्षा निकायका प्रमुख एवम स्थानिय राजनैतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


  • सम्बन्धित विषय:

  • # राेहिणी गाँउपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार