भैरहवा । बृहत्तर लुम्बिनीको विकासमा संचारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भैरहवामा आईतबार सम्पन्न भएको छ ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशको सह–आयोजनामा आइतबार भैरहवामा भएको वृहत्तर लुम्बिनी पर्यटन प्रबर्द्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वतmाहरुले लुम्बिनीसंगै यस संग सम्बन्धित अन्य स्थान र लुम्बिनी प्रदेशका ऐतिहांसिक सम्पदाहरुको समग्र विकासमा जोड दिनुपर्ने धारणा राखे । सरकारले भौतिक पुर्वाधार विकासमा जोड दिने, स्थानीयले सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्धन गर्ने तथा यसको प्रचारका लागि संचारले भुमिका खेल्नु पर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारको लागि लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष समेत मनाएको बताइन् ।
‘प्रदेश सरकारले पर्यटनको विकासका लागि आवधिक योजनाहरु अगाडी सारे पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ, ’उनले भनिन् । लुम्बिनी आउने पर्यटकलाई देवदह, तिलौराकोट, रामग्राम, रानीमहल, सुपा देउराली, ठाकुरद्वारासहित लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यसम्म पु¥याउन सके यसले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने मन्त्री पाण्डेले बताइन् । प्रदेश सरकारले टुरिष्ट गाइड तालिमको सुरुवात समेत गर्न लागेको उनले जानकारी दिइन् । शुन्यबाट सुरु भएको प्रदेश सरकार अहिले देखिने अवस्थामा पुगेको उनको भनाइ थियो । ‘निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटन क्षेत्रको विकासको लागि अगाडी बढ्छौै, ’मन्त्री पाण्डेले भनिन् ।
कार्यक्रममा उद्योग, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. राजेन्द्र के.सी.ले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र उजागर गर्न आवश्यक रहेको बताए । उनले लुम्बिनी प्रदेश पर्यटनको हिसाबले अपार सम्भावना बोकेको प्रदेश भएको बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन प्याकेज बनाउनुपर्ने बताए । लुम्बिनी नेपालीको मात्र नभएर विश्वका शान्तियामीहरुको आस्थाको केन्द्र भएको उनले बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिए । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीले पर्यटनको विकासका लागि सरकारी निकायले चासो र चिन्ता लिन नसकेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले लुम्बिनीबारे सञ्चार माध्यमले उजागर गरेको बताइन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष निरु गौतमले वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रले अत्यन्त प्राथमिकता दिएर समाचार सम्प्रेषण गरेको बताइन् ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताए । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष वेनीमाधव बस्यालले लुम्बिनीसंगै रामग्राम र तिलौराकोटलाई पनि ध्यान दिनुपर्ने बताए ।अग्रज पत्रकार चेतन पन्तले लुम्बिनीको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्ने बताए ।
भैरहवा मर्निङवाक गु्रपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले लुम्बिनी विकास कोष र सरकारले लुम्बिनीको विकासमा ध्यान दिनुपर्ने बताए । समाजसेवी तथा अभिवक्ता प्रख्यात बञ्जाडेले पर्यटन क्षेत्रको विकासका लागि यातायात र सडकलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । पत्रकार पशुपति यादवले लुम्बिनीको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा ‘लुम्बिनी न्यूज फेस्टिबल’ कार्यक्रम आयोजना गरिसकेको बताए । पत्रकार अनिल तिवारीले लुम्बिनीको विकासका लागि कपिलवस्तुलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीका निर्देशक यम बहादुर कुंवरको अध्यक्षता तथा टुकराज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरीले लुम्बिनी प्रदेशमा पर्यटन उद्योग र लेखक युवराज कंडेलले वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक खुला अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सिद्धार्थनगर–९, भैरहवाकी गीतादेवी शर्मा, द्वितीय भएका सिद्धार्थनगर–८ का शशि पन्थी र तृतीय स्थान हासिल गरेका लुम्बिनी बौद्ध विश्वविद्यालयका डा. न्यूमाया शेर्पालाई पुरस्कार प्रदान गरिएको छ ।
आइतबार भैरहवामा आयोजित कार्यक्रममा शर्मालाई नगद ३० हजार, पन्थीलाई २० र शेर्पालाई १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको खुल्ला अनुसन्धानात्मक लेख लेखनमा मूल्यांकन समितिले प्रथम, द्वितीय र तृतीय स्थान छनौट गरेको थियो ।
यस्तै, निर्देशनालयले भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका प्यूठानका पत्रकार प्रकाश न्यौपाने, नवलपरासीका गोपीराम ज्ञवाली र कपिलवस्तुकी स्वेता गिरीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । निर्देशनालयले पत्रकारितामार्फत् लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै तीनै जनालाई नगद १०÷१० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मानीत गरेको हो ।
न्यौपाने न्यूज २४ टिभी र लुम्बिनी टिभीका भैरहवा संवाददाता तथा पब्लिक कुरा डटकमका सम्पादक हुन् । ज्ञवाली गोरखापत्रका नवलपरासी सम्वाददाता हुन् भने गिरी पत्रकार महासंघ कपिलवस्तु शाखाकी उपाध्यक्ष छन् । उनीहरु सबैजनालाई उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्साल, मन्त्रालयका सचिव डा.राजेन्द्र केसी, निर्देशनालयका निर्देशक यमबहादुर कुंवरलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
यस्तै, सनुसन्धानात्मक लेख मूल्याङ्कन समितिका संयोजक प्राडा गितु गिरी, सदस्य वसन्त विंडारी, डा.बालकृष्ण चापागाईं र डा.हरिध्वज राईलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।