भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेल वेस्टर्न क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा बुटवल युथलाई १० विकेटले पराजित गर्दै बेस्टर्नले जित निकालेको हो ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ५४ बनाएको थियो । जसका लागि लक्षमण परियारले सार्वधिक १० रन बनाए पनि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङ तर्फ वेस्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा, विक्रम भुसाललेसमान २–२ लिए ।
जवाफी ब्याटिङमा ५५ रनको लक्ष्य पाएको वेस्टर्नले ६ ओभरै लक्ष्य पार गरी ५८ रन बनाएर जित हासिल गर्यो । विना विकेट क्षतिमा देव खनालको ३४ र भुवन पाण्डेको १७ रनको पारीले जित निकाल्यो ।
शुक्रबारको खेलमा अनिल खरेल म्यान अफ द म्याचबाट पुरस्कृत भए । वेस्टर्नका खरेलले ६ ओभरमा ३ मेडेन खेल्दै १५ रन खर्चेर ३ विकेट लिएका थिए ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । अहिले सम्मको खेलबाट ३ वटा टिम डिभिजन ए मा उक्लिएको छ । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यान बीच प्रतियोगिता हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।