Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा छाडा चौपायाको व्यवस्थापन : गाईगोरुको कानमा ट्याग लगाईयो


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७९ बुधवार
  • 444
    SHARES

भैरहवामा छाडा चौपायाको व्यवस्थापन : गाईगोरुको कानमा ट्याग लगाईयो

भैरहवा, २९ भदौँ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाईएको छ ।

छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाईएको हो । नगरमा छाडाचौपायाको रुपमा विशेष गरी गाई-गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा ५ वटा गाई-गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । 

नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई-गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई-गोरुको नियन्त्रणका लागि उनीहरुको कानमा ट्याग लगाईएको बताए । 'अहिले हामीले कृषकले पालन गरेका गाई-गोरु छाडा नछाडुन भन्ने उद्देश्यले पहिचानका लागि गाई-गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ', नगर प्रमुख खानले भने, 'यसले छाडा छाडिने चैपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने विश्वास छ ।'

कृषकले पालन गरेका गाई-गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरुको कानको ट्याग लगाईएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताईन् । 'कानमा ट्याग लगाईएकोले कृषकहरुले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छ' उनले भनिन्, 'ट्याग लगाईएको पशु कसैले छाडेको पाईएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारवाही गरिनेछ ।' नगरमा छाडाचौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् ।

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरुबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाईएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

यस्तै छाडाचौपायाको व्यवस्थापन अन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र संचालित यस योजना पश्चात भुस्याहा कुकुरको व्यवस्थापन तर्फ लागिने उनको भनाई छ । छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरुले पनि योजना संचालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाईदा पुग्ने सरोकारवालाहरुको भनाई छ ।


लुम्बिनी चिन्तन

थप समाचार