भैरहवा साउन २९/
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेका औषधी पसल, स्वास्थ्य क्लिनिक, डेन्टल लगायत स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ ।
कार्यालयले अनुगमन समितीको संयोजक एवं उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा नियमित अनुगमन अन्र्तगत आइतबार नगरमा रहेका १७ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु नगरपालिकाको कार्यालयमा दर्ता÷नविकरण नभइ संचालनमा रहेको पाइएको समितीको संयोजक अधिकारीले बताइन् ।
‘हामीले विभिन्न १७ वटा क्लिनिक, औषधी पसल, डेन्टल लगायतमा अनुगमन गर्यौँ’ उनले भनिन्, ‘त्यसमध्ये एउटा औषधी पसलमा म्याद ग्रुजिएको औषधी र दर्ता पनि नरहेको पाइएपछि औषधी जफत गरी उक्त पसल तत्कालका लागि बन्द कारवाही गरेका छौँ ।’
अनुगमन समितीले बन्द गरेको पसल संचालकलाई पसलसगँ सम्बन्धित कागजातहरु सहित नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरु मापदण्डमा संचालनमा रहेको पाइयो भने अधिकांश नगरपालिकाको कार्यालयमा दर्ता÷नविकरण नभइ संचालनमा रहेको पाइएकोले मापदण्डमा संचालन गर्न निर्देशन दिदै पहिलो पटकको लागि सचेत गराइएको उनको भनाई छ ।
उनले अनुगमन निरन्तर हुने भएकोले सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने उनले बताइन् ।
अनुगमन टोलीमा संयोजक अधिकारी सहित वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपाने, अधिकृत विजयनाथ चौधरी, राजश्व शाखाको अधिकृत हिरा बराल, ल्याब टेक्निसियन रोमा घिमिरे, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।