भैरहवा, १९ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले भुकम्पले प्रभावित पीडितहरुका लागि विभिन्न संघसंस्थाको समन्वयमा राहत संकलन कार्य सुरु गरेको छ ।
संकलन गरिएको राहत (आवश्यक साम्रगी) जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा प्रभावित जिल्लामा पठाईने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बताए ।
कार्यपालिकाको बैठकले सिद्धार्थनगरको कार्यालय, जनप्रतिनिधि र कर्मचारीको तर्फबाट गरी कुल २२ लाख ५४ हजार पाँच सय रुपैयाँ र २ सय थान कम्बल पठाउने निर्णय गरेको उनले बताए ।
यस्तै पालिकाले विभिन्न संघसंस्थाबाट पनि राहत साम्रगी संकलन गरेको छ । नगरपालिकाको उपप्रमुख उमा अधिकारीका अनुसार नगरको रोट्रयाक्ट क्लबबाट ५ सय केजी, सिद्धार्थ उद्योग वाणिज्य रुपन्देही र उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशले संयुक्त रुपमा २५ सय किलो, उद्योग व्यापार संगठन रुपन्देहीले ५ सय किलो चामल, नमुना एकिकृत परिषदले ३० थान सिरक, सिद्धार्थ संजाल रुपन्देहीले चाचाउ र २० किलो फुरनदाना उपलब्ध गराएको छ ।
जिल्लाका विभिन्न पालिकाबाट संकलन गरिएको राहत जाजरकोटका लागि सोमबार साँझ ट्रकमा पठाइएको उनले बताइन् । यस्तै जिल्लाको अन्य पालिकाहरुले आवश्यक राहत संकलन गरी एकिकृत गरिरहेका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समिती रुपन्देहीको बैठकले एकद्धार प्रणालीबाट सहयोग गर्ने निर्णय गरेको अनुसार नगरपालिकाको कार्यालयले भुकम्प पीडितहरुलाई सहयोग गर्न चाहने नगरवासी, संघसंस्था लगायतले नगरपालिकाको कार्यालयमा समन्वय गर्नका लागि सूचना जारी गरी अपिल गरेको छ ।
नेपाल प्रहरीले भुकम्प पीडितहरुको नाममा कुनै पनि माध्यमले कुनै प्रकारका सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरुको आधिकारिकता निश्चत गरेर मात्र सहयोग गर्न अनुरोध गरेको छ ।