भैरहवा, साउन २१ । अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । ६६ वर्षको उमेरमा निधन भएका पत्रकार पन्तको सोमबार बिहान ९ बजे सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।लामो समयदेखि उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए । पन्त विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए । उनको निधनले समाजसँगै राष्ट्रलाई अपूरणीय क्षति पुगेको लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत रहेका गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीले बताए । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।