भैरहवा मंसिर २९/
बुधबार देखि सुरु भएको २३औ सामूहिक खेलकुद महोत्सव २०८१ शनिवार सम्पन्न भएको छ। सामुहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको खेलकुद महोत्सवको मङ्सिर २६ गते बुधबार सुरु भइ २९ गते शनिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले आयोजना गरेको खेलले विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने संगै उनीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताए।
४ दिन सम्म सञ्चालित खेलमा भलिबलको छात्र तर्फ सिबि पब्लिक प्रथम, न्यु इरा द्वितीय र लड बुद्ध तृतीय भएका छन् भने छात्रातर्फ मनकामना प्रथम, सन्जिवनी द्वितीय र मिनर्वा तृतीय भएका छन। त्यस्तै एथ्लेटिक्स तर्फ ६ स्वर्ण, २ रजत, ६ कास्य पदक प्राप्त गरी मनकामना इङ्ग्लिस हाइ स्कुल प्रथम भएको छ भने ५ स्वर्ण, २ रजत, पदक प्राप्त गरी मिनर्वा इङ्ग्लिस हाइ स्कुल द्वितीय त्यस्तै ५ स्वर्ण, ३कास्य पदक प्राप्त गरी स्पाङगल इङ्ग्लिस स्कुल तृतीय भएका छन् ।
सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष बसन्त पाण्डेले २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवार रूपन्देहीले २३ वर्षको दौरानमा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको बताए।
मङ्सिर २६ देखि २९ मंसिरसम्म भएको चार दिने खेल महोत्सवमा पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड, लङजम्प, र सटपुट खेलहरू भएका थिए।
सामूहिक विद्यालय परिवार रूपन्देहीमा सिद्धार्थनगर नगरपालिका तिलोत्तमा नगरपालिका मायादेवी गाउँपालिका रोहिणी गाउँपालिका र ओम सतिया गाउँपालिकामा पर्ने २० विद्यालय सदस्य रहेका छन्। मङ्सिर २६ देखि मङ्सिर २९ सम्म भएको प्रतियोगितामा विजय हुने प्रतियोगीलाई मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । एथ्लेटिक्स तर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा भएको थियो भने भलिबल खेल पक्लिहवा माविमा थियो।