भैरहवा, पुस १४ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले १०औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार भैरहवामा आयोजित कार्याक्रममा बोल्दै वक्ताहरुले क्लबले पत्रकारितासँगै अन्य क्षेत्रमा खेलेको भूमिका र गरेका कामको प्रशंसा गरे ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी प्रेस क्लब धेरै उचाईमा पुगेको बताए । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानादेखि वर्तमान अध्यक्ष कमल रायमाझीसम्म नेतृत्वको टीम राम्रो र समाजमा केही गरौं भनेर छाप छाड्ने किसिमको रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकार र पत्रकारिता क्षेत्रको विकाससँगै समाजिक क्षेत्रमा समेत काम गरिरहेको जनाए । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पत्रकारको समाजप्रति उत्तरदायित्व रहेको बताए । इतिहासकार तथा साहित्यकार विजय गोविन्द श्रेष्ठले प्रेस क्लबले छोटो समयमा लामो र सम्झन लायक काम गरेको जनाए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले प्रेस क्लबसँग सहकार्य गरेर अघि बढ्ने बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पत्रकारको हकहितलाई संरक्षण गर्नुका साथै लुम्बिनी प्रेस क्लबले मानवीय सँगसँगै सामाजिक विकासमा समेत टेवा पुर्याएको बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले क्लबले भन्सारमा हुने हरेक सकारात्मक गतिविधिलाई समाचारका माध्यमबाट बाहिर ल्याउने र अनैतिक क्रियाकलापमा रोक लगाउन खबरदारी समेत गराउँदै आएको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निजी क्षेत्र उत्थानका लागि निजी क्षेत्रले चाल्ने हरेक पाइलामा क्लबले साथ दिँदै आएको बताए ।
सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा काफ्लेले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न र सुशासनको पक्षमा कलम चलाउन क्लबका सदस्यहरुलाई आग्रह गरिन् ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विगतका दिनदेखि नै यस क्लबले संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमलाई समाचारमार्फत देशविदेशमा पुर्याउने काम गरेको बताए ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रूपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले क्लब निष्पक्ष गतिशील रूपमा सञ्चार यात्रामा रहने अपेक्षा गरेको बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय, भैरहवा प्रमुख ब्रह्माकुमारी शान्ति दिदी, पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु केसी, अग्रज पत्रकार दीलिप भट्टराई लगायतले बोल्दै लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकाससँगै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै प्रशंसा गरे ।
स्थापना दिवस समारोहमा मैत्रीपूर्ण फुटसलको विजेता जिल्ला सुरक्षा समिति, उपविजेता लुम्बिनी प्रेस क्लब ‘बी’ टिमलाई पुरस्कार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण टीमहरुलाई प्रमाणपत्र वितरण गरिएको क्लबका उपाध्यक्ष दीपक घिमिरेले बताए । बौद्ध सञ्चार यात्रामा सहभागी सम्पूर्णलाई प्रशंसा–पत्र प्रदान गरिएको क्लबका सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताले जानकारी दिए ।