दीपेश पछाई
भैरहवा फागुन ४,
साईकल सिटी भैरहवाले बुद्ध ज्ञान साईकल यात्रा २०८१ दोस्रो संस्करण फागुनमा गर्ने भएको छ ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी संगै बुद्धसंग सम्बन्धित रुपन्देही , नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरु लाई समेटेर फागुन १६ र १७ गते “बुद्ध ज्ञान साईकल यात्रा“ कार्यक्रम संचालन गर्न लागीएको साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।
लुम्बिनीको पर्यटन प्रबर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय बृद्धीका लागी गत बर्ष देखी साईकल सिटी भैरहवाले “बुद्ध ज्ञान साईकल यात्रा“ गर्न लागेको हो । फागुन १६ र १७ गते दुई दिन हुने बुद्ध ज्ञान साईकल यात्रामा सार्क मुलुकका साईकिलिष्टहरु सहित दुई सय सहभागी हुने अध्यक्ष सारु मगरले बताए ।
फागुन १६ गते भैरहवा बाट सुरु हुने साईकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, हुदै पुनह रुपन्देहीको देबदहको पण्डितपुर , बुद्ध मावली भवानीपुर , बौद्धकालीन पाकरी रुख हुदै तिलोतमा नगरपालिकाको बनबाटिका , बुटवलको जितगडी किल्ला हुदै भैरहवा सम्म हुने छ ।
त्यसैगरी दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दीर बाट सुरु भई शुद्धोदन गांउपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दीर , गैडहवा गांउपालिकाको गैडहवा ताल , यशोधरा पार्क हुदै कपिलबस्तुको मानव निर्मीत जगदिसपुर ताल , सग्रहवा , राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट , कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा , कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा,भगवान बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुदै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनि आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।
आन्तरिक र बाहिर्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्ध संग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई सय जना साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराउन लागेको अध्यक्ष सारु मगरले बताए ।
हरेक वर्ष हुने “बुद्ध ज्ञान साईकल यात्रा“ ले गौतम बुद्धसंग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी ,ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्ध संग जोडिएका स्थानहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साईकल सिटि भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।
गत बर्ष चिनिया दुई , भारतिय १९ र मुलुकको बिभिन्न प्रदेशका गरी दुई सय साइृकल यात्री सहभागी रहेका थिए । यस पटक सार्क मुलुकका साईकल यात्रीहरु पनि सहभागी रहने जनाईएको छ ।
सहभागी साईकिलिष्टहरुले पहिलो दिन करिव ९० किलोमिटर र दोस्रो दिन ८५ किलोमिटर दुरी तय गरेर बुद्धसंग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् । सहभागी साईकिलिष्टहरु फागुन १५ गते भैरहवा आएर बस्ने छन् भने समापनको दिन १७ गते लुम्बिनी बस्ने गरी कार्यक्रम तय गरिएको छ । दोस्रो संस्करणको कार्यक्रम सम्पन्न गर्न करिव २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।