भैरहवा चैत्र २४,
पूर्व महिला क्रिकेट खेलाडीहरुबीच सोमबार देखी भैरहवामा ‘महिला लेजेण्ड सिरिज’ हुने भएको छ ।
खेलमा सहभागीता जनाउन देशका बिभिन्न जिल्लाहरु बाट पुर्व खेलाडीहरु भैरहवा आईपुगेका छन् । भैरहवा स्थित सिदार्थ रंगशालामा सोमबार र मंगलवार हुने खेलमा ‘सन् २००७ र २००९ खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरु प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता संयोजक नितु थापाले बताईन । ‘१७ वर्ष पछि नेपालमै पहिलोपटक भैरहवामा सबै खेलाडी एउटै मैदानमा जम्मा भई मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघ सहआयोजनामा सिरिज हुन लागेको हो । आयोजकका अनुसार पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको दुई टिम बनाएर स्पार्धा हुनेछ । प्रतियोगिता संयोजक नितु थापाले सोमबार देखी हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् ।
उक्त सिरिजमा लेदर बदको प्रयोग गरिनेछ । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड भने पहिलोपटक हुन लागेको हो ।
प्रतियोगितामा सन् २००७ को राष्ट्रिय टिमका खेलाडीहरु नेरी थापा मगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढा मगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुंवरको एउटा टिम बनाइएको छ ।
यस्तै, सन् २००९ को टिमका रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, नीमा महर्जन, करुणा भण्डारीको अर्को टिम बनाइएको छ । केही अपुग खेलाडीहरु स्थानीयस्तरका सहभागी गराइने छ ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले लेजेण्ड पुरुषहरुको मात्र प्रतियोगिता हुँदै आएकोमा नयाँ योजनासहित लेजेण्ड महिलाहरुको पनि सिरिज आयोजना हुन लागेकोमा खुशी व्यक्त गरे ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संघ सहआयोजक भए पनि आयोजककै रुपमा सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संस्थागत रुपमा आवश्यक प्राविधिक पक्षमा सहयोग गरेको जनाउँदै यसले नेपाली क्रिकेट इतिहासमा नयाँ आयाम थप्ने विश्वास गरे ।
नेपाल खेलकुद पत्रकार मंच, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नयाँ प्रतियोगिताले पुस्तालाई खेलमा आउन प्रोत्साहन मिल्ने बताए । महिला लेजेण्डका लागि रुपन्देही जिल्लालाई छनोट गरि प्रतियोगिता आयोजना गरिँदा यसले यस क्षेत्रको क्रिकेटसँगै पर्यटनमा समेत टेवा मिल्ने अधिकारी बताए ।