भैरहवा, चैत्र ३० ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि शनिवार भैरहवा आएको छ ।
भैरहवा आएको महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेको छ ।
आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टिम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणले जानकारी दिए । महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एशिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।
संघका कोषाध्यक्ष खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भैरहवा आएका हुन् । उक्त टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म भैरहवामा बन्द प्रशिक्षण चल्नेछ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने संघका अध्यक्ष थापाले बताए ।
‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ अध्यक्ष थापाले भने ।
इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ ।