Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शुक्रबारदेखि भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने


  • लुम्बिनी चिन्तन
  • जेठ ९, २०८२ बिहिवार
  • 370
    SHARES

शुक्रबारदेखि भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने


भैरहवा जेठ ८,
भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा प्रतियोगिता हुने जनाएका छन् ।
प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए । भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन् । त्यसैले प्रतियोगिताको नाम ‘लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ राखिएको छ ।
नेपाल क्रिकेट संघको कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टिम सहभागी हुनेछन् । पराजुलीका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । प्रतियोगिताले प्रदेशस्तरीय बलियो टिम छनोटमा सहयोग पुग्ने जनाइएको छ ।
प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गरी एउटा टिम बनाइने बताए ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संघले प्रतियोगिता सफल पार्न सबै किसिमको तयारी गरेको जनाए । उनका अनुसार छनोट खेल भएकाले प्रतियोगिताका विजेता टिमलाई ट्रफी र मेडल मात्रै पुरस्कार राखिएको छ । तर, प्रत्यके खेलमा म्यान अफ द म्याचलाई भने एक हजार रुपैयाँ प्रदान गरिने उनले बताए । ३५ ओभरमा खेलाइने उक्त प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार