Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ऐतिहासिक सतिया माई मन्दिरः आस्थाको केन्द्र, प्रचारको पर्खाइमा


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८२ मंगलवार
  • 846
    SHARES

ऐतिहासिक सतिया माई मन्दिरः आस्थाको केन्द्र, प्रचारको पर्खाइमा

निलु चौधरी ।

भैरहवा, साउन ०६ । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–५, पटखौलीस्थित ऐतिहासिक सतिया माई मन्दिर आज पनि श्रद्धालुहरूको गन्तव्य बन्दै आएको छ। सतिया माईको स्मृतिस्वरूप निर्मित यो मन्दिर वि.सं. २०७३ साल चैत्र १ गते निर्माता हरि नारायण चौधरीद्वारा आफ्ना दिवंगत माता–पिताको सम्झनामा निर्माण गरिएको हो । उनका पिता द्वारिका चौधरी र माता राम सवारी देवी हुन्।

तर, सतिया माईको कथा भने हजारौं वर्ष पुरानो धार्मिक मान्यतासँग जोडिएको छ। जनविश्वास अनुसार, सतिया माई तरैनी गाउँको थारु समुदायको चेली हुनुहुन्थ्यो। श्रीमानको निधनपछि सति जानुपर्ने परम्परागत मान्यताका आधारमा उहाँले सति जान इच्छा व्यक्त गर्नुभयो। तर, समुदायले अनुमति नदिएपछि उहाँ घरबाट निस्किएर लुकेर आजको मन्दिर क्षेत्रको जंगलमा बस्न थाल्नुभयो। गाईभैंसी चराउनेहरुले देखेपछि सानो झुपडी बनाएर बस्ने व्यवस्था गरिदिए।

त्यस बेला गाउँलेहरुले चिन्न नसकेको अवस्थामा, माईले खोलाबाट बालुवा ल्याउन निर्देशन दिनुभयो। उक्त बालुवा चिनीमा परिणत भयो, पानीबाट घ्यु र तेल बन्न थाल्यो। यी चमत्कारी घटनाहरुले सतिया माईप्रति गाउँलेहरुको श्रद्धा बढ्दै गयो। अहिले प्रत्येक वर्ष कार्तिक पूर्णिमामा मेला लाग्ने गर्दछ, जहाँ देशभरका श्रद्धालुहरू भाकल गर्न तथा दर्शन गर्न आउँछन्।

मन्दिरमा दैनिक ५० देखी एकसय जना भक्तजनहरू आउने गरेका छन्। तर, अझै पनि यो धार्मिक स्थलको आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा रहेको छ। स्थानियबासी भन्छन्, “यदि रोहिणी खोलामा पुल निर्माण भएको भए पर्यटकहरूको संख्या दोब्बर हुन्थ्यो।“


मन्दिरमा स्थापनाकाल देखीन नै थारु समुदायका साधुसन्तहरूद्वारा पुजा अराधना गर्दै आएका छन्। उनीहरूले नै मन्दिरको दैनिक पूजा, हेरचाह तथा व्यवस्थापनको जिम्मेवारी लिएका छन्। मन्दिरको दक्षिण पट्टि साधुसन्तहरूका लागि आवासीय भवन निर्माण भइरहेको छ। गाउँपालिका तथा वडा कार्यालयले पनि आवश्यक सहयोग गरिरहेको ओमसतिया गाउँपालिका वडा नं. ५ का अध्यक्ष मदन प्रसाद पोख्रेल बताउँछन्।

यहाँ एक ऐतिहासिक कुँवा पनि रहेको छ, जुन सतिया माईकै आशीर्वादको प्रतीक मानिन्छ। 


साधुसन्तहरू भन्छन्, “हामी भगवानको आश्रयमा घरपरिवार छोडेर यहाँ बसेका छौं। मेला लाग्ने गर्छ, भक्तजनहरू पनि नियमित रूपमा आउँछन्, तर सरकारले अझैसम्म प्राथमिकता दिएको देखिँदैन।”


अर्का साधुसन्त थप्छन्, “हामी झण्डै २०–२५ जना साधुहरू यहाँ बस्छौं। भगवानको कृपाले अहिलेसम्म भोजन मिलिरहेको छ, तर सुविधाको चरम अभाव छ।”

सतिया माई मन्दिर धार्मिक, सांस्कृतिक तथा पर्यटन दृष्टिकोणले महत्वपूर्ण सम्पदामध्ये एक हो। श्रद्धालुहरूको दिनप्रतिदिनको बढ्दो आवागमनले यहाँको महत्त्व अझ प्रस्टिएको छ। अब आवश्यक छ—स्थानीय तहदेखि प्रदेश सरकारसम्मको समन्वयमा यस धार्मिक स्थलको संरचना, प्रवद्र्धन र व्यवस्थापनमा थप ध्यान दिनु।


लुम्बिनी चिन्तन

थप समाचार