भैरहवा मंसिर १८/
भैरव युवा क्लब नया गांउ सिद्धार्थनगरले मंसिर २० गतेदेखि ‘प्रथम भैरव नक–आउट फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई खेलकुदमैत्री नगर बनाउने लक्ष्यसहित मंसिर २० देखी २७ गतेसम्म ‘प्रथम भैरव नक–आउट फुटबल प्रतियोगिता’ आयोजना गर्न लागीएको क्लवका अध्यक्ष यम बहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी ८ वटा फुटबल क्लबको सहभागिता रहनेछ । विजेता टोलीले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेदेखि उपविजेताले ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी सर्वोत्तम खेलाडीलाई १० हजार, सर्वोत्तम गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरलाई ७–७ हजार रुपैयाँ, तथा दैनिक उत्कृष्ट खेलाडीलाई २५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नेपाल र मित्रराष्ट्र भारतमा समेत उत्कृष्ट प्रदर्शन गर्दै फुटबल क्षेत्रमा योगदान पु¥याएका पूर्व खेलाडी चेतन गुरुङ, अशोक गुरुङ, किशन थापा, श्याम गुरुङ, अशोक राना (वाङ) र बुद्धिराम नेपालीलाई विशेष सम्मान गरिने क्लबले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। सिद्धार्थनगर नगरपालिका–१ वडा कार्यालयले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ भने बाँकी रकम शुभेच्छुक, उद्योगी–व्यवसायी तथा टिकट बिक्रीबाट संकलन गरिनेछ। यसै बीच, सामाजिक व्यक्तित्व सुसिल गुरुङले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक ऊर्जा दिने उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकार तथा सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा पक्लिहवा मावि परिसरको फुटबल मैदानलाई आधुनिक र गुणस्तरीय बनाउने लक्ष्यसहित करिब ५९ लाख रुपैयाँको लगानीमा सुधारको काम भइरहेको क्लबले जनाएको छ। प्रतियोगितामा सहभागी क्लबहरूमा— भैरव युवा क्लब पक्लिहवा, अञ्चलपुर युवा क्लब, लिस्नु युवा क्लब, सम्पूर्ण युवा क्लब, फर्साटिकड युवा क्लब, भैरव युवा क्लब रामग्राम, टुटीपिपल युवा क्लब ओमसतिया र मोन्सस्टर गाइज सुनवल गरी आठ टोली रहेका छन्।