भैरहवा फागुन १०,
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले विभिन्न कारण हातखुट्टा गुमाएका ५८ सर्वसाधारणलाई कृत्रिम हातखुट्टा वितरण गरेको छ ।
बिहीबारदेखि सुरु भएको तीनदिने शिविरमा रुपन्देही, नवलपरासी, दाङ, पाल्पालगायतका जिल्लाबाट आएका ५८ जना सर्वसाधारणलाई कृत्रिम हातखुट्टा वितरण गरेको राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।
बिहीबारदेखि सुरु भएको शिविरमा पहिलो दिन नाम दर्ता गराएका व्यक्तिका हातखुट्टाको नाप लिएको थियो । शुक्रबार नापअनुसार प्राविधिकले हातखुट्टा तयार गरेका थिए । र, शनिबार विशेष कार्यक्रम आयोजना गरेर सहयोगापेक्षीलाई हस्तान्तरण गरिएको राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए।

शिविरमा दुर्घटनालगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएर लामो समयदेखि बसेका व्यक्तिलाई सहयोग उपलब्ध गराइएको हो । अध्यक्ष अग्रवालले विशुद्ध मानवीय सेवालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार शारीरिक रूपमा अक्षम नागरिकलाई सहयोग गरिएको हो । शिविरमा सहभागीले निःशुल्क हातखुट्टा पाउँदा खुसी व्यक्त गरे।
शिविरमा रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँबाट सहभागिता थियो । आयोजकका अनुसार भैरहवामा तेस्रोपटक निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर सञ्चालन गरिएको हो । संघले यसअघि भैरहवासहित अन्य सहरहरूमा आयोजना गरेको यस्तो शिविरबाट हालसम्म साढे तीन सयभन्दा धेरैलाई कृत्रिम हातखुट्टा सहयोग गरेको छ ।

कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष श्रवण बेरिवाल, पूर्वअध्यक्ष हेमन्त अग्रवाल, समाजसेवी तथा पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवाल, महिला मञ्चकी बिनुम अग्रवाललगायतले सबैको सहयोगले मानवीय काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताए । कृत्रिम हातखुट्टा हस्तान्तरण कार्यक्रममा युवा संगठन र मारवाडी सेवा समितिका पदाधिकारी र सदस्य तथा सामाजिक अगुवाहरू सहभागी थिए ।