भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आजबाट सुरु भएको २० औ संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सुरुवाती खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ ।
सिद्धार्थ रंगशालामा आज भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्यो ।
निर्धारित ४१ ओभरमाको खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको स्टार क्रिकेट क्लबले सबै विकेट गुमाउदै प्रोफेसनललाई १६२ रनको लक्ष्य दिएको थियो । जसका लागि अनिल थापाले ४३, ईश्वर ज्ञवाली नटआउट ३८ र मिलन पन्थीले १५ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रताप यादवले सर्वाधिक ५, अनिल जैसवालले २ र सुनिल सहानी, फरहान खान र लोकेन्द्र सेनले १÷१ विकेट लिए ।
जवाफी व्याटिङमा प्रोफेसनलले ७ विकेटको क्षतिमा ३५ ओभरमै लक्ष्य पार गरेसँगै खेल जितेको हो । प्रोफेसनलका लागि प्रनित थापाले ४३, अनिल जैसवारले ३० रन, आदित्य त्रिपाठीले २८ रन बनाए । बलिङमा स्टारका महेश पटेलले ३, जय गोदार र मौसम ढकालले समान २÷२ विकेट लिए । प्रोफेसनलका जयप्रताप यादव म्यान अफ दि म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । बी डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा सुरु भएको छ, नकआउट चरणमा भइरहेको प्रतियोगिता यस वर्ष देखि लिग चरणमा खेलाइदै छ । जसबाट उत्कृष्ट ४ टिम छनोट भई ए डिभिजनसँग प्रतिस्पर्धा गर्नेे रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए । बिहीबार डिभिजन बी अन्तर्गत गोलपार्क क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन् । यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी रहने आयोजकले जानकारी दिएको छ । लिग चरणमा खेलाइने प्रतियोगितामा कुल २७ खेल खेलाईने छ ।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।
२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ ।