नेपाल बार एसोसिएशन र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसोसिएशन र न्यायाधीशहरूबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।
छलफलका क्रममा न्यायाधीशहरूले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एसोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो । बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उहाँले बताउनुभयो ।
‘माननीय न्यायाधीशहरु पनि सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अत्यन्त चिन्तित हुनुहुन्छ र ग्रेसफुल एक्जिट के हुन्छ भन्ने कुरामा हामीले पनि खोजिरहेका छौँ र छलफल गरिरहेका छौँ भनेर उहाँहरुले हामीलाई बताउनुभयोु उहाँले भन्नुभयो – हामीले त्यहाँ निकै संवेदनशील ढंगले हाम्रा विषयहरु, हाम्रो बटमलाइन उहाँहरूसँग राखेका छौँ र हामी न्यायपालिकाको समग्र सुधारको विषयमा भएको हुनाले प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटम लाइन हो भन्ने कुरा पनि हामीले राखेका छौँ ।
उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरूले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरूले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ ।