सम्झना शर्मा
लुम्बिनी १९ पुस ।
लुम्बिनीको विकासका लागि गठित लुम्बिनी विकास कोषको संरचनामा पुर्नविचार गरिनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार लुम्बिनीमा आयोजना गरेको “लुम्बिनी विकासको अवस्था र भावी कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै यहांका विभन्न क्षेत्रका सरोकारवालाहरुले कोषमा राजनीतिक नियुतिm बन्द गरी विज्ञलाई समावेश गरिनुपर्ने माग गरेका हुन् । उनीहरुले पर्यटन मन्त्री स्वतः कोषको अध्यक्ष हुने प्रावधान समेत फेरिनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा लुम्बिनीको विकासका लागि सुझाव प्रस्तुत गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले लुम्बिनीलाई जोड्ने भैरहवा लुम्बिनी सडकखण्डमा अलपत्र अवस्थामा रहेका पुललाई तत्काल पुरा गरिनुपर्ने, नेपाली नागरिकका छोराछोरीलाई तत्काल नागरिकता प्रदान गरिनु पर्ने लगायतका सुझाव राखेका छन् । लुम्बिनी विकास कोषले स्थानीयको भावना समेटेर उनीहरुको जिवनस्तर उकास्ने गरी विकासका योजना ल्याउन तत्काल कदम चाल्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा लुम्बिनी तथा गौतमबुद्धसंग सम्बन्धित विभिन्न स्थानीय सरकारका प्रमुखहरुले लुम्बिनी तथा यससंग सम्बन्धित स्थानहरुको गुरुयोजना तयार गर्दा स्थानीय सरकारलाई समावेश गरिनु पर्ने धारणा राखे ।
वृहत्तर लुम्बिनीको अवधारणा अनुरुप यससंग सम्बन्धित देवदह, तिलोैराकोट, रामग्राम, सुस्ता, पाल्पा, बुटवल लगायतका ऐतिहांसिक क्षेत्रलाई समेटेर छुट्टै गुरुयोजना बनाउन सकेमात्र लुम्बिनीको विकासले सार्थकता पाउने उनीहरुले बताए ।
रामग्राम गरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले गौतमबुद्धको अस्तु सुरक्षित रहेको एकमात्र रामग्राम स्तुपा ओझेलमा परेको भन्दै यसको संरक्षण र प्रवद्धनका लागि छुट्टै विकास काषको आवश्यकता औल्याए । चाहेर पनि यस्ता पुरातात्विक स्थानमा स्थानीय सरकारले मात्र केही गर्न नसक्ने हुंदा नीति मै परिवर्तन गरी स्थानीय सरकारलाई पनि यसमा सहभागी बनाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा मेयर मनमोहन चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई सांस्कृतिक नगरको रुपमा विकास गर्ने नगरपालिकाको कार्ययोजना रहेकोले लुम्बिनी विकास कोषले चौघेरा बाहिर रहेका स्थानीयको भावना समेट्नु पर्ने बताए । कोषले लुम्बिनी वरपर रहेका वस्तीलाई समेट्न नसकेकोप्रति ध्यानाकर्षण गराए ।
यस्तै बुद्धको मावली स्थल रहेको देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले देवदहको विकासमा कोषको केही ध्यान गएपनि प्रायाप्त नभएको बताए । लुम्बिनी आउने विदेशी तथा स्वदेशी पर्यटकलाई देवदह जानै पर्ने गरी विकास गरिनु पर्ने र यसमा स्थानीय सरकारक समन्वय गर्न तयार रहेको प्रमुख खत्रीले बताए ।
कार्यक्रममा सुस्ता गाउंपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले सिद्धार्थ गौतमको पहिलो पटक मुण्डन गरेको सुस्तालाई पाखा राखेर लुम्बिनीको पर्यटन प्रवद्धन गर्न नसकिने धारणा राखे । अझै पनि बुद्धसंग सम्बन्धित धेरै स्थानको पहिचान हुन बांकी रहेकोले लुम्बिनी आउने पर्यटकलाई सुस्ताको अनुमाघाटका बारेमा जानकारी दिन जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालय तथा अन्य संघ संस्था, पर्यटन व्यवसायी, स्थानीय संघसंस्था लगायतका प्रतिनिधिहरुले समेत समग्र लुम्बिनीको विकासका लागि लुम्बिनी परिसरभित्र संचालन गरिएका गुम्बाहरुलाई गेष्टहाउसको रुपमा संचालन गरिएको भन्दै आपत्ती जनाए । विभिन्न देशले संचालन गरेका गुम्बाहरुमा विदेशी पाउनालाई राख्दा अवौं लगानी गरी संचालन गरिएका बाहिरका होटल व्यवसायीहरु मारमा परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्ष गराए । कार्यक्रममा संस्कृतविद डा. गितु गिरी, पर्यटन व्यवसायी हेम बहादुर विष्टु, कृष्ण गुरुङ्ग, स्थानीय अगुवाहरुले विभन्न सुझाव दिएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विभिन्न क्षेत्रका सरोकारवालाहरुले समग्र लुम्बिनीको विकासका लागि प्रस्तुत गरेका सुझावलाई संसद मार्फत सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएका छन् । लुम्बिनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीका सुझाव संकलन गर्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनीमा पर्यटकको आगमन बढाउन तथा बसाई लम्बाउने गरी प्रवेश नाकामै गौतमबुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित विभन्न क्षेत्रहरुको बारेमा जानकारी मुलक सामग्री प्रस्तुत गर्ने गरी योजना बनाउनु पर्ने बताए ।