भैरहवा मंसिर १५।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले बर्षभरी गर्नेकामहरुलाई समेटेर १९ बुँदे वार्षिक कार्ययोजना निमार्ण गरेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ स्थित नरपानी सुपा–देउराली रिसोर्टमा भएको वार्षिक कार्ययोजना गोष्ठीले १९ बुँदे कार्ययोजना तय गरेको संगठनका अध्यक्ष राम प्रसाद पोखरेलले बताए ।
संगठनको वार्षिक साधारणसभा सकेपछि जिल्ला बाहिर पुगेर कार्ययोजना गोष्ठी (बैठक) हुँदै आएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले पर्यटकीय स्थलहरुमा पुगेर वार्षिक कार्ययोजना बनाउँदै आएका छौं, संगठन महासचिव बाल बहादुर घिमिरे (सुनिल) भने ।
कार्ययोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र दिगो रुपमा सञ्चालन गर्न यस क्षेत्रका ट्राभल एजेन्सी तथा अन्य सम्बन्धित निकाय एवं स्थानीय सरकारसँग छलफल एवं अन्तरक्रिया गर्ने रहेको छ ।
त्यसैगरी व्यवसायिक दर्ता तथा नविकरणमा विशेष पहल गरी नयाँ दर्ता एवं नविकरणलाई प्राथमिकतामा राख्ने, घर भाडा, घर बहाल कर एवं व्यवसायीहरुका विभिन्न समस्याहरु समाधानका लागि निरन्तर लाग्ने र सम्बन्धित निकायमा पहल गर्ने, सिद्धार्थ सडक खाना महोत्सव–२०८१ भव्यताका साथ सफल गर्ने कार्ययोजना बनाईएको छ ।
होटल तथा रेष्टुरेण्टको गुणस्तर निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा संगठनमा आबद्ध व्यवसायीहरुलाई खाद्य शुद्धता सम्बन्धी तालिम सञ्चालन गर्ने र जिरो प्वाइन्ट बसपार्कको व्यवस्था गर्न सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्कलाई कार्यान्वयनमा ल्याउने कार्यका दागि स्थानीय तहसँग समन्वय गरी छलफल तथा अन्तरक्रिया गर्ने समावेश गर्ने लगायत रहेका छन् ।
त्यसै गरी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपालका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न निकायहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, नयाँ वर्ष, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने, वृक्षारोपण, सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्ने, कर शिक्षा सम्बन्धि कार्यक्रम आयोजना गर्ने, व्यवसायलाई मर्यादित गराउने र होटलमा हुने विभिन्न किसिमका घटनाहरुलाई मध्यनजर गर्दै आफ्नो व्यवसायिक प्रतिष्ठानमा सिसिटीभी क्यामेरा जडान गर्ने कार्ययोजनामा समावेश छ ।
बैठकमा बोल्दै संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक कार्य गर्दै आएको बताए । त्यस्तै होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनले आफूहरुलाई उत्साहित बनाएको बताए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले स्थानीय र राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरे । त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका पूूर्वअध्यक्ष गणेश प्रसाद बेल्बासेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन भए सबैलाई फाइदा पुग्ने बताए ।
संगठनका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर) ले बेलहिया नाकालाई जति व्यवस्थित गरे त्यति नै धेरै पर्यटक आउने बताए । सल्लाहकार केशवराज ज्ञवालीले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । सल्लाहकार अर्जुन कुमार गिरीले एकजुट भएर अघि बढ्दा संस्था अझ बलियो हुने बताए ।
संगठनका उपाध्यक्ष नरेन्द्र खनालको स्वागत, उपाध्यक्ष दिनबन्धु खनालको धन्यवाद ज्ञापन तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।