भैरहवा मंसिर १५/
भैरहवाका दुई युवाले ७० लाख रुपैयाँ लगानीमा रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । भैरहवाका युवाहरु रमेश कान्दु र दीपक बानियाँले सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । गार्डेन अफ ड्रिङ्स (जीओडी) रेष्टुरेन्टमा नेपालीसहित विदेशी स्वादिष्ट खानाका परिकार पस्किने संचालकले जनाएका छन् । रेष्टुरेन्टको शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरे । उनले अहिलेको विषम् परिस्थितिमा समेत लगानी गरेर कान्दु र बानियाँले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

श्रेष्ठले उद्योगी व्यवसायीको हीतका लागि संघले सधैं सकारात्मक सहयोग गर्ने जनाए । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई रेष्टुरेन्टसम्म ल्याउने वातावरण बनाएर सफल व्यवसायीको परिचय बनाउन सफल हुनेमा आफू विश्वस्त रहेको उनले सुनाए । संचालक कान्दुका अनुसार केही समययता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बन्न थालेपछि विमानस्थललाई लक्षित गरी रेष्टुरेन्ट संचालन गरिएको हो ।
उनका अनुसार रेष्टुरेन्टमा सबै प्रकारका ड्रिङ्सका साथै स्वादिष्ट कफी फाइन्छ । यसका साथै नेपाली सबै किसिमका खानासँगै थकाली, थाई, चिनियाँ, इण्डियन खाना यहाँ पाइन्छ । यस्तै, तन्दुरीका साथै खाजासेट पनि उपलब्ध गराइने कान्दुले बताए । अर्का संचालक बानियाले खुल्ला ठाउँ भएकाले यहाँ धेरैको रोजाइ हुने विश्वास व्यक्त गरे । उनका अनुसार एकैपटकमा १ सय २० जनालाई सेवा दिनसक्ने गरी डेकोरेसनसहितको पार्टेसन गरिएको छ । रेष्टुरेन्ट विस्तारै २४सै घण्टा संचालन गरिने उनले बताए । उनका अनुसार अहिले रेष्टुरेन्टमा ४० जनाले रोजगारी पाएका छन् । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले रेष्टुरेन्टले भैरहवालाई अझै गुल्जार बनाउने बताए ।