भैरहवा- आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ८ महिनामा ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ८ महिनामा वार्षिक लक्ष्यको ९०.०५ प्रतिशत राजस्व संकलन गरेको हो।
उक्त कार्यालयलाई राजस्व विभागले ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो। विगतका केही वर्षमा आन्तरिक राजस्व संकलनमा विभागले असुली गर्न दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसकेता पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए ।
मासिक राजस्व संकलनको
लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिएअनुसारको राजस्व संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रूपमा राजस्व संकलन गरेको पोखरेलले जानकारी दिए ।
कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख संकलन गरेको छ। यो लक्ष्यको १००.६० प्रतिशत हो। गत आवको फागुन महिनामा संकलित राजस्वसँग तुलना गर्दा चालु आवको फागुनमा २०.८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपैयाँ बढी हो। कार्यालयले चालु आवको ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख, अन्तशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख संकलन गरेको छ।
बजार अनुगमन, करको दायरामा
नआएका र छुटेकाहरूलाई दायरामा ल्याउने, आमसर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छल्नेलाई कारबाही, कर बक्यौता असुलीलगायतका काममा समेत कार्यालयको टिम लाग्दा राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए ।
'अहिले सबैमा करबारे बुझाउनु पर्छ। करको दायरामा जानु पर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएकोले राजस्व संकलनमा सुधार भएको हो' उनले भने । राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रूपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको ५ देखि १७ सम्म, देवदह नगरपालिकाको-१,२,३,४, ११२१२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन् ।