भैरहवा, जेठ २३ । नेपाल – स्वास्थ्य सेवाको क्षेत्रमा युनिभर्सल कलेज अफ मेडिकल साइनसेज शिक्षण अस्पताल (युसिएमएस) ले आफ्नो दरिलो पहिचान बनाउँदै गएको छ। पछिल्ला महिनाहरूमा अस्पतालले मूत्र प्रणाली (युरोलोजी) सम्बन्धी रोगहरूको उपचारमा अत्याधुनिक प्रविधि भित्र्याउँदै, सेवा विस्तारमा धेरै प्रगति गरेको छ।
यस अस्पतालमा कार्यरत मूत्र प्रणाली विशेषज्ञ डा. निश्चल गौतमले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी जटिल रोगहरूको उपचार सम्भव बनाएका छन्। पाकिस्तानबाट चिकित्साशास्त्रमा डिग्री प्राप्त गरी नेपाल फर्किएका डा. गौतमले नेपालगञ्ज मेडिकल कलेज र भरतपुर क्यान्सर अस्पतालमा कार्य अनुभव हासिल गरेका थिए। अहिले उनले युनिभर्सल शिक्षण अस्पताललाई आफ्नो सेवा केन्द्र बनाएका छन्।
डा. गौतम भन्छन्, “यस अस्पतालमा प्रयोग भइरहेका ‘रिसेन्ट एडभान्स्ड सर्जरी’ प्रविधिबाट बिरामीलाई शरीर नचिरेरै, स–साना प्वाल वा पिसाबको बाटोमार्फत ढुङ्गा निकाल्ने, सुन्निएको नली खोल्नेजस्ता काम सम्भव भएको छ।”
अस्पतालमै यस्ता सेवा उपलब्ध भएपछि बिरामीलाई काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता हटेको छ। “यहाँ सम्पूर्ण सुविधा भएकाले बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको संख्या निकै कम छ,” डा. गौतमको भनाइ छ।
यस अस्पतालमा मृगौलाको ढुङ्गा, पिसाबमा रगत देखिने, बारम्बार पिसाब लाग्ने, पिसाब पोल्ने, थैलीमा ढुङ्गा हुने, लिङ्गसम्बन्धी समस्या, र मूत्रनलीका क्यान्सरसम्मका रोगहरूको उपचार उपलब्ध छ। महिलाहरूमा देखिने पिसाबसम्बन्धी समस्या र संक्रमणसमेत यहाँ सहजै उपचार गर्न सकिन्छ।
डा. गौतमका अनुसार, “यस अस्पतालमा जाँचदेखि उपचार र शल्यक्रियासम्मको सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध छ, जुन सुविधाले बिरामीको समय, पैसा र श्रम सबै बचत भएको छ।”
भैरहवा र आसपासका क्षेत्रका लागि युनिभर्सल अस्पताल अब मात्र शिक्षण संस्था नभई, गुणस्तरीय उपचार सेवाको गन्तव्य बनिसकेको छ। यस अस्पतालको सेवा विस्तारले काठमाडौँ वा भारत जानुपर्ने दबाब घटाएको छ।
“ढुङ्गाको समस्या रोक्न दिनमा कम्तीमा ३ लिटर पानी पिउनु उत्तम उपाय हो। सजिलो लागे पनि बारम्बार पिसाब लाग्ने वा पिसाबमा रगत देखिनेजस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन।” डा. गौतमले जानकारी दिनुभयो ।