भैरहवा, २७ असार ।
सुनचाँदी व्यवसायीहरूको आन्दोलन अन्त्यसँगै ८ दिनपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार पुनः सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ।
आन्दोलनको क्रममा मूल्य निर्धारण नगरेको महासंघले असार १९ यता पहिलोपटक शुक्रबार नयाँ दर तय गरेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यो मूल्य असार १९ मा तोकिएको १ लाख ९२ हजार १०० रुपैयाँभन्दा ३०० रुपैयाँ कम हो।

चाँदीको मूल्य भने उकालो लागेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ, जुन असार १९ को तुलनामा ५० रुपैयाँले बढी हो।
सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको विलासिता करको विरोधमा व्यवसाय बन्द गरेर आन्दोलित थिए। बिहीबार सरकारसँग भएको ६ बुँदे सहमति पश्चात् आन्दोलन अन्त्य गरी व्यवसायमा फर्किएका हुन्।
अर्थ मन्त्रालयमा भएको वार्तापछि सरकारले सुन तथा गरगहनालाई ‘विलासिता वस्तु’को परिभाषाभित्र राख्ने विषयमा पुनरावलोकन गर्न समिति गठन गर्ने सहमति भएको छ।
राजस्व व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा बन्ने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक तथा महासंघका प्रतिनिधि रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयमै रहनेछ।