भैरहवा साउन २।
सशस्त्र प्रहरी बल नम्बर २७ गण हे.क्वा., रुपन्देहीले गत आर्थिक वर्ष २०८१–०८२ मा सवा १३ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मोहन न्यौपानेका अनुसार गत साउनदेखि असार मसान्तसम्म १३ करोड १० लाख ३९ हजार ९८९ रुपैयाँ मूल्य बराबरको विभिन्न सामान बरामद गरिएको हो ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट नेपालतर्फ हुने गरेको तस्करी नियन्त्रणमा कडाई गरिएपछि उक्त मूल्यको विभिन्न सामान बरामद गरिएको डीएसपी न्यौपानेले जानकारी दिए । उनका अनुसार सशस्त्रले एक वर्षमा लत्ताकपडा मात्रै २ करोड ७३ लाख ७७ हजार १७४ रुपैयाँ बराबरको बरामद गरेको छ ।
यस्तै, अन्य सामानहरु तथा विभिन्न अवैध सामानहरु ढुवानीमा प्रयोग भएका ठुला सवारी साधनहरु ट्रक, मिनी ट्रक, ट्याक्टर ८, साना सवारी साधनहरु कार, भ्यान, छोटा हात्ती १०, अटो रिक्सा ५, मोटरसाइकल १७५ र साइकल १० गरि २०८ वटा सवारी नियन्त्रणमा लिइएको छ । यी सवारीलाई ४ करोड २२ लाख २७ हजार ४०१ रुपैयाँ मूल्य कायम गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालय बुझाइएको छ ।
यस्तै, राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा खटिई विभन्न समान २ करोड १९ लाख ३० हजार ८४५ रुपैयाँ बराबरको सामान बरामद गरिएको डीएसपी न्यौपानेले बताए । उनका अनुसार चिनी ९५ लाख ५२ हजार ८९ रुपैयाँको बरामद गरिएको छ । यस्तै, दाल, चामल, मटर, चना लगायतका खाद्यान्न ७ लाख ८७ हजार ५५०, कस्मेटिक १४ लाख ९६ हजार २८५, भाडा बर्तन ९९ हजार ८०२, मोबाइल फोन ९ लाख, प्याज ५ लाख २१ हजार ६७०, हार्डवेयर ७ लाख ९६ हजार २२३ रुपैयाँ बराबरको बरामद गरिएको छ ।
मोटर, मोबाइल पार्टस्, इलेक्ट्रिक्स सामान ७५ लाख ७६ हजार ९८३, नगद (नेपाली तथा भारतीय रुपैयाँ) २० लाख ६० हजार, आयुर्बेदिक तथा एलोपेथिक औषधि ४६ लाख ३ हजार ४८६, मदिरा ३६ हजार मूल्य बराबरको बरामद गरिएको छ । यसैगरी ब्रोइलर कुखुरा, मासु, माछा, किराना सामानहरु, रासायनिक विषादी, हरियो तरकारी, पटका, पशु चौपाया, नदीजन्य पदार्थ पनि लाखौं रुपैयाँको बरामद गरिएको डीएसपी न्यौपानेले बताए ।