भैरहवा पौष २६/
औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्दहड्ताल निषेध घोषणा गर्न ब्यावसायिहरुले माग गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उधोगी ब्यावसायिहरुले औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्दहड्ताल निषेधित क्षेत्र घोषणा गराउन माग गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्दहड्ताल निषेधित क्षेत्र घोषणा गराउन महासंघले सरकार समक्ष माग गरेको बताए ।
हरेक आन्दोलनमा निजी क्षेत्रलाई लक्षित गरी क्षति पुर्याउने गरिएको भन्दै सरकारबाट यसबारेमा चाँडै नै निर्णय हुने विश्वास व्यक्त गरे । पछिल्लो उदाहरण जेनजी आन्दोलनलाई देख्न सक्छौ उनले भने ।
‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै निजी लगानीको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई पनि हड्ताल निषेधित घोषणा गरि तोडफोड, आगजनी, लुटपाट जस्ता घटना गर्न नमिल्ने गराउनु पर्छ’, ढकालले भने, ‘यसका लागि महासंघले ड्राफ्ट बनाइ सरकार समक्ष बुझाइसकेको छ । मन्त्रिपरिषदको बैठकले चाँडै नै यसबारेमा निर्णय गर्नेछ उनले भने ।
मुलुकको ठूलो सँख्यामा रोजगारी, राजश्व संकलनको स्रोत र विकासका पूर्वाधार औद्योगिक तथा व्यवसायिक क्षेत्रबाट हुने गरे पनि जहिले बन्दहड्तालको चपेटामा यो क्षेत्र पर्ने गरेको भनाइ उनको थियो ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि आफूले निरन्तर पहल जारी राखेको उल्लेख गर्दै उनले यसका लागि पछिल्लो पटक मध्यपूर्वी देशहरुबाट सिधा हवाइ उडानका लागि प्रस्ताव राखेको जनाए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा संघले विगतदेखि नै राजनीतिक स्थायीत्व, आर्थिक समृद्धि र विकास मुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेण्डा बनाइनुपर्ने मागगर्दै आइरहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले बौद्धमार्गी मुलुकहरुसँग नीतिगत तथा कुटनीतिक पहल गर्नुपर्ने र भैरहवामा निर्माणाधीन आईसीपी (एकीकृत जाँचचौकी) स्थलमा रेल–वे सेवा जोडिनु पर्नेमा उनले जोड दिए ।
भैरहवा नाकाबाट नेपाल भित्रिने बिदेशी पर्यटकलाई भीसा लगायतका सुविधा भन्सार बिन्दुबाटै उपलब्ध गराइनु पर्ने र भैरहवा लगायतका सिमावर्ती नेपाली सहरमा रात्रीकालिन बजार सहितको ‘मनोरञ्जनात्मक सहर’ बनाइनु पर्ने आचार्यले बताए । सरकारबाट लागु गरिएको ओभरलोड भारको नियम सवै नाकाहरुमा समान हुनु पर्ने उनले बताए । कुनै नाकामा ओभरलोडको मतलव नै नहुने र कुनै नाकामा लागु गरिने विभेदपूर्ण व्यवहारप्रति सरकारको ध्यान जाओस्’, आचार्यले भने, ।
सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय उत्पादनको प्रयोगलाई जोड दिँदै आम व्यवसायीको हितलाई ध्यानमा राखेर नगरपालिकाले कर नभइ करको दायरा बढाएको बताइन् । नगरपालिकाले कर छुट दिँदा पनि व्यवसायी सम्पर्कमा नआएको गुनासो उनले गरिन् । उनले निजी क्षेत्रसँग पालिकाले हातेमालो गरेर अघि बढीरहेको जनाइन् ।
नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई वेवास्तागर्दा मुलुकमा समस्याआएको बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायीत्व खोजेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्य
क्ष दिलसुन्दर श्रेष्ठले गौतमबुद्ध र पोखरा विमानस्थलको अवस्था देखेर रुन मन लाग्ने जनाए । ऋणमा बनाएको विमानस्थल चलाउन निरन्तर आवाज उठाउनुपर्ने उनले बताए ।
स्याङ्जा उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले सिद्धार्थ राजमार्गको स्तर उन्नती जरुरी रहेको बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र महासचिव कृष्णप्रसाद घिमिरेले विमानस्थल नियमित संचालन र निजी क्षेत्रको मनोबल उकास्नु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार कान्दु, , महासचिव कृष्णप्रसाद घिमिरे । संघका सचिव मंगल भण्डारी लगायतले बोल्दै नाका व्यवस्थापन, चोरीतस्करी नियन्त्रण, स्थानीय उत्पादनको प्रयोग, विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्नुपर्ने, राज्यले आर्थिक गतिविधि चलायमान हुने अनुकूल वातावरण तत्काल सिर्जना गर्नुपर्ने माग राखेका थिए ।