Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

थाई एयर एसियाले अप्रिलदेखि भैरहवामा उडान रोक्ने संकेत, पर्यटन व्यवसायी चिन्तित


  • लुम्बिनी चिन्तन
  • माघ ९, २०८२ बिहिवार
  • 350
    SHARES

थाई एयर एसियाले अप्रिलदेखि भैरहवामा उडान रोक्ने संकेत, पर्यटन व्यवसायी चिन्तित

भैरहवा माघ ८/

थाई एयर एसियाले अप्रिलदेखि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान रोक्ने संकेत गरेसँगै भैरहवाका पर्यटन व्यावसायीले चिन्ता व्यक्त गरेका छन् । 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी बुधबार आयोजित अन्तर्क्रियामा सहभागी थाई एयर एसियाका प्रबन्धक सुनील शाक्यले अप्रिलदेखि भैरहवाबाट उडान भर्न नसकिने जनाएपछि स्थानीय व्यवसायीले चिन्ता प्रकट गरेका हुन् । उनीहरूले सरकारी र निजी क्षेत्रबाट गरिनुपर्ने कामको खाका तयार पारी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने जोड दिएका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय बजारमा गएर प्रवर्द्धन गर्नुपर्ने, नेपालमा लुम्बिनीसँगै अन्य ठाउँलाई जोडेर प्याकेज बनाउनु पर्ने, बलियो समिति बनाएर समन्वयकारी भूमिका खेल्नुपर्ने, हिमालयन र नेपाल एयरलाइन्सबाट उडान भर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले निजी र सरकारी लगानी जोखिममा रहेकाले विमानस्थलमा जसरी पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने बताए । विमानस्थलका निमित्ति महाप्रबन्धक श्यामकिशोर शाहले आर्थिक विकासका लागि निर्माण गरिएको विमानस्थल नियमति नचल्दा निजी क्षेत्र अप्ठ्यारोमा पर्नु स्वाभाविक भएको बताए । नियमित उडान भर्नका लागि सबै लागि रहे पनि सफलता पाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले विमानस्थल दिगो सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरी सहजीकरण समिति बनाउनुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले स्थानीयस्तरमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने काममा प्रतिबद्ध रहेको जनाए । विमानस्थलको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा जानुपर्नेमा उनले जोड दिए । 

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल प्रवद्र्धनका लागि हातेमालो जरुरी रहेको जनाए । 

विमानस्थल सञ्चालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडलले दुई विशाल छिमेकी मुलुकको बिचमा रहेको नेपालले पर्यटनबाट प्रशस्त लाभ लिन सकिने जनाए । ‘रामायण सर्किट, महाभारत सर्किट र बौद्ध सर्किट जोडेर अन्तर्राष्ट्रिय प्याकेज बनाउनुपर्छ,’ उनले भने, ‘यस्तो भएमा विदेशी विमान कम्पनी यहाँ आउँछन् ।’ उनले भैरहवामा भिसा, मेडिकल सेन्टरलगायतका सुविधा नहुँदा पनि विमान कम्पनी उडान भर्न नआएको बताए । 

थाई एयर एसियाका सहायक प्रबन्धक सुनिल शाक्यले अप्रिलदेखि भैरहवामा उडान भर्न नसकिने बताएका छन् । अहिले सिजनका बेलामा समेत निकै कम यात्रु पाइरहेको र घाटामा हुँदा पनि सातामा दुई उडान भरिरहेको बताए ।

‘हामीले भारतको कुशीनगर झर्ने बौद्ध तीर्थयात्रीलाई भैरहवा आएर लुम्बिनी घुमेर त्यहाँ जान प्रवर्द्धन गरिरहेका छौँ । थाइल्यान्डमा पनि प्रचार गरेका छौँ,’ उनले भने, ‘तर, यात्रु पाइराखेका छैनौँ ।’ उनले विभिन्न समूहलाई बोलाएर विमान भर्ने काम गरिरहेको सुनाए । यसलाई दिगो बनाउने हो भने भारतीय यात्रुलाई दिने नो–अब्जेक्सन लेटर, भिसा, मेडिकल म्यानपावरलगायत सुविधा हुनुपर्ने उनको भनाइ छ। 

सिद्धार्थ होटल संघका  बरिष्ठ उपाध्यक्ष किशोर जोशी, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली, होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठनका अध्यक्ष राजेश मलहोत्रा , नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा, पूर्वअध्यक्ष सागर अधिकारी, सोट्टोका पूर्वअध्यक्ष संजय बजिमय, लुम्बिनी विकास कोषमा सूचना अधिकृत हरिध्वज राई, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा लगायतले बोल्दै कुनै पनि हालतमा थाई एयर एसियाका उडानलाई नियमित गर्नुपर्नेमा जोड दिए ।


लुम्बिनी चिन्तन

थप समाचार