भैरहवा फागुन १०/
प्याब्सन सिद्धार्थनगरले रुपन्देही–३ का उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
निजी विद्यालयको भविष्य, शिक्षा नीति र संसदमा बन्ने कानुनका सन्दर्भमा उम्मेदवारहरू कति गम्भीर छन् ? निजी क्षेत्रलाई सहयात्रीको रूपमा लिने कि नियमन कडा बनाउने ? निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको सेवा–सुरक्षा कसरी सुनिश्चित गर्ने ? यिनै जिज्ञासाहरूलाई केन्द्रमा राख्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगरले रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले शिक्षा क्षेत्रसम्बन्धी आफ्नो धारणा, प्रतिबद्धता र भावी योजना सार्वजनिक गरेका थिए । अधिकांश उम्मेदवारहरूले निर्वाचित भई संसदमा पुगेपछि शिक्षा नीति निर्माण तथा संशोधन प्रक्रियामा निजी विद्यालयसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार फैज अहमद खाँनले निजी विद्यालयको शुल्क अभिभावकका लागि चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । यद्यपि, सरकारी विद्यालयले मात्र बढ्दो विद्यार्थी संख्या धान्न नसक्ने अवस्थामा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको उनको धारणा थियो ।
उनले विपन्न तथा सर्वसाधारण विद्यार्थीलाई निजी विद्यालयमा सहज पहुँच दिलाउन सरकार र निजी क्षेत्रबीच सहकार्यको मोडेल आवश्यक रहेको बताए । उनका अनुसार, प्रति विद्यार्थी सरकारी अनुदान तथा विद्यालयबाट शुल्क छुटको व्यवस्था मिलाएर समावेशी नीति बनाउन सकिन्छ ।
नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले निजी विद्यालयको दर्ता, खारेजी र अनुगमन सरकारको दायित्वभित्रै रहनुपर्ने बताए । तर, केही उदाहरणका आधारमा सम्पूर्ण निजी विद्यालयलाई दोषारोपण गर्दै नीति निर्माण गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका उम्मेदवार सुशिल गुरुङले शिक्षा नीतिमा परिमार्जन गर्दा निजी क्षेत्रका लगानीकर्ता, शिक्षक, अभिभावक लगायत सबै सरोकारवालासँग समन्वय आवश्यक रहेको धारणा राखे । निजी विद्यालयमाथि लाग्ने कर, छात्रवृत्ति र शुल्कसम्बन्धी प्रश्नलाई पारदर्शिताका साथ समाधान गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलम मुसलवान तथा राष्ट्रिय जनमुक्ति पार्टीका मोजिव अलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफामुखी होइन, सेवामुखी बनाउने नीति आवश्यक रहेकोमा जोड दिए ।
स्वतन्त्र उम्मेदवार जित बहादुर गुप्ताले २०२८ सालको शिक्षा ऐन समयअनुसार परिमार्जन हुन नसकेको उल्लेख गर्दै विगतमा शिक्षा क्षेत्र राजनीतिक प्रभावमा परेको टिप्पणी गरे । कार्यक्रममा राष्ट्र्रिय जनमुक्ती पार्टिका उमेदवार मोजिव अलि , जनमत पार्टीका उमेदवार बिशाल गुप्ता लगायतले आ आप्नौ धारणा राखेका थिए ।
कार्यक्रमको समापन गर्दै प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले शिक्षा क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गर्नुपर्ने, निजी क्षेत्रमैत्री तथा शिक्षण पर्यटन प्रवद्र्धन गर्ने नीति आवश्यक रहेको बताए । गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अधिकांश उम्मेदवारहरूले समावेशी, सन्तुलित र सहकार्यमा आधारित शिक्षा नीति निर्माणमा प्रतिबद्धता व्यक्त गरेका थिए । निजी विद्यालयमा विपन्न तथा सर्वसाधारण विद्यार्थीको पहुँच विस्तार, गुणस्तर सुधार र शिक्षक–कर्मचारीको अधिकार संरक्षणका विषयमा सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा साझा धारणा राखेका थिए ।