भैरहवा चैत्र १९,/
माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार) बिहान ८ बजेदेखि सुरु भएको छ । । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख नौ हजार ९५१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यसमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् ।
यसपालि परीक्षा सकिएको तीन दिनभित्र प्रत्येक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच्ने र एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्ने बोर्डको तयारी छ । २९ चैतमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण थालिनेछ । शिक्षा मन्त्रालयको निर्देशनमा यससम्बन्धी कार्यविधि बनाएर उत्तरपुस्तिका जाँच र परीक्षाफल प्रकाशन छिटो गर्न लागिएको बोर्डले जनायो ।
‘परीक्षा मर्यादित र सुरक्षित रूपमा सञ्चालन हुन्छ, विद्यार्थीहरूलाई परीक्षा हलमा कुनै पनि प्रकारको डिभाइस लैजान प्रतिबन्ध छ,’ बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले भने, ‘परीक्षा केन्द्रहरू सुरक्षित बनाएका छौँ, ढुक्क भएर परीक्षा दिने वातावरण देशैभर छ ।’ उनका अनुसार ७७ वटै जिल्लामा जिल्ला शिक्षा समन्वय इकाइ, स्कुल र प्रहरीसँग समन्वय गरेर परीक्षा केन्द्र व्यवस्थित पारिएको छ ।
देशभर १९ सय ९१ परीक्षा केन्द्र तोकिएका छन् । अधिकांश केन्द्र सामुदायिक विद्यालयमै राखिएको छ । त्यस्तै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ विद्यार्थीले एसइई दिँदै छन् । अधिकांश परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै, परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले परीक्षा केन्द्रहरूमा करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाएको छ ।