बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।
आफुले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसिन रहन नमिल्ने ठहर गरेको हो । एमालेले पत्रकार सम्मेलनमा सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा एमालेले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा ९६० को देहाय खण्ड ग एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम नीजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’
पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद बैजनाथ चौधरीले सभामुखले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाईदिने चेतावनी दिए । चौधरीले सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए । नेता चौधरीले सभामुखको भूमिकाअनुसार पदमा बसिरहन नमिल्ने तर्क गरे।
चौधरीले भने ‘सभामुखले एमाले छाड्ने सांसदलाई उतिखेरै पदमुक्त गर्ने, जसपाका ४ जना सांसदलाई उतिखेरै पदमुक्त गर्ने र अहिले माओवादी सरकारलाई समर्थन गरेका एमालेका सांसदलाई एमालेले कारबाही गरेपछि पदमुक्त गर्न ढिलासुस्ती गर्ने, यो कुन कानुनले दिन्छ, कुन नैतिकताले दिन्छ, उहाँ सभामुख हो कि न्यायाधीश ?’