भैरहवा । गृहमन्त्री बालकृष्ण खांणले सरकारको पहिलो प्राथमिकता नै आम नागरिकको जीवन रक्षा रहेको बताएका छन् । उनले रुपन्देहीको एक कार्यक्रममा अनाहकमा कसैको ज्यान नजाओस् भनि सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
गृह मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका गृहमन्त्री खाणले स्वागत सम्मान तथा बधाई कार्यक्रम भैरहवामा सम्बोधन गर्दै जिल्लाका सुरक्षा प्रमुखहरुलाई सुरक्षालाई पहिलो प्राथमिकता दिने र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिए । सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्दै आम नेपाली नागरिकहरुको जीवन रक्षा गर्नु हो आम नागरिकको रक्षाको सुप्रबन्ध गर्ने काम सरकार र गृह प्रशासनको रहेकोले सुरक्षा प्रमुखलाई कार्यान्वयनका लागि आग्रह गरे । सरकारको पहिलो प्राथमिकता नै आम नागरिकको जीवन रक्षा हो ।
‘यात्रामा कहिले सजिलो कहिले गा्रहो हुन्छ, उकाली ओरालो पनि आउछन,’ राजनीतिक जीवनमा पनि मोडहरु आउने हंदा विचलित नहुन सबैलाई गृह मन्त्री खाणले आग्रह गरे ।
फरक प्रसँगमा बोल्दै गृहमन्त्री खाणले रुपन्देहीमा रहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल र एकीकृत भन्सार चौकीको बिकासको कार्ययोजना तयार भएको बताए । सुनौलीमा ५ किलोमिटर सम्म मालवाहक गाडीहरुको पार्किङ लाग्ने गरेकोले त्यो समस्या समाधान गर्न सारोकारवाला निकायसँग ब्यवस्था मिलाउने र निर्माणाधिन बिमानस्थल छिटो भन्दा छिटो सन्चालनमा ल्याउन सार्थक प्रयास गरिरहेको बताए ।
गृहमन्त्रीको रुपमा पहिलो पटक गृह जिल्ला आएको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्वागत सम्मान बधाई तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको थियो । नेपाली कांग्रेसका नेता प्रेम नारायण खरेलको शोक सभामा भाग लिन रुपन्देही आएका गृहमन्त्री खाँणले शोक सभा पछि बुटवलको ज्योतीनगरमा गएको पहिरोको निरीक्षण गरि समुचित ब्यवस्था गर्न, यहांका सुरक्षा निकायका प्रमुखहरुसित बैठक गर्ने लगायतको कार्यक्रम रहेको छ ।
जिल्ला उपसभापति सरिता चौधरीको स्वागत, सचिव रामकृष्ण खाणको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति अब्दुल रज्जाकले गृह मन्त्री खांण र लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँनले दोसल्ला ओढाई सम्मान गरेका थिए ।