काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो ।
सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्।
सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य राजन भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।