भैरहवा पौष ३०,
विभिन्न ११ सुत्रीय मागहरु राख्दै जनमत पार्टी रुपन्देहीले भैरहवामा प्रर्दशन गरेको छ । पार्टीका केन्द्रीय सचिव भुपेन्द्र कुमार यादवको नेतृत्वमा भैरहवाको बर्मेलिटोलबाट सुरु भएको किसानहरुको र्याली नयांसडक, देबकोटाचोक, बैंकरोड , मिलनचोक, नारायणपथ हुदै पुनः बर्मेलिटोलमा आएर समापन भएको थियो ।

समापन समारोहमा पार्टीका केन्द्रीय सचिव भुपेन्द्र कुमार यादव सहित केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव भुपेन्द्र यादवले सरकारले किसानहरुको माग नसुनेको आरोप लगाए । किसानका साना भन्दा साना मागहरु पनि सरकारले सम्बोधन गर्न नचाहेको उनले बताए । आफ्नै देशमा खेती गर्नका लागी पनि सरकारसंग मल बीउ माग्दै आन्दोलन गर्नु पर्ने बाध्यता रहेको उनले बताए । सरकार ठुला ठुला भ्रष्टाचारहरुमा सम्लग्न रहेको बताउंदै आपसमा मिलेर सरकार चलाउने तर किसानलाई हेर्ने दृष्टी सबै पार्टीहरुको गलत रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य केन्द्रीय सदस्यहरुले सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको राजनीनामा समेत मागेका थिए । रुपन्देहीको बिभिन्न स्थानहरुबाट प्रर्दशनका लागी कृषकहरु भैरहवा आएका थिए । उनिहरुले हलो , ढकिया, उखु , धान लगायतका कृषिजन्य समाग्रीहरु बोकेर प्रर्दशन गरेका थिए ।

जनमत पार्टीले किसानमाथिको दमन बन्द गर, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दाहरु फिर्ता गर, समयमा मलखाद र बीउविजनको व्यवस्था गर, सिंचाईको व्यवस्था गर ,सिंचाईको लागि विजुली निःशुल्क गर, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिवापत तत्काल राहत देउ, किसानको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति गठन गर, किसानको फसलको उचित मूल्य कायम गर, स्थानीय निकायमा भएका चरम भ्रष्टाचारको छानविन गरी दोषीलाई जेल चलान गर र किसानका लागि कृषि बीमा लागू गर लगायतका ११ सुत्रीय माग राख्दै आएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु तथा विभागका पदाधिकारीहरु नर्मदा लोध, रघुबेन्द्र पटेल, बिकास प्रसाद लोध, चन्द्र सेरपर सोनार , निलु चौधरी , संजयकुमार मिश्र, निलम पासवान,निर्मला हरिजन, राम केश गुप्ता, राम बिष्णु शिंह लोध लगायतले सम्बोधन गर्दै किसानका समस्या समाधान गर्न माग गरेका थिए ।